दुर्घटनाग्रस्त गाडी प्रकरण: घटनाबारे विस्तृत विवरण सार्वजनिक (प्रेस विज्ञप्ति सहित)
देउखुरी ७ वैशाख । लमही नगरपालिकाको बा २ झ ४२०१ नम्बरको गाडी दुर्घटनापछि उठेको विवाद र सार्वजनिक चासोका बीच नगरपालिकाले विस्तृत प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । नगरपालिकाले केही समयदेखि सामाजिक सञ्जाल तथा स्थानीय स्तरमा उठिरहेका गुनासो र वैशाख ७ गते प्राप्त ज्ञापनपत्रलाई ध्यानमा राख्दै कार्यपालिका बैठकको निर्णयअनुसार विज्ञप्ति जारी गरेको हो ।
जारी विज्ञप्ति अनुसार तत्कालीन अवस्थामा अछामको मंगलसेन नगरपालिकामा कार्यरत तथा हाल लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी लमही हुँदै घर जाँदै गर्दा सवारी साधनको लाइट बिग्रिएको थियो । सोही क्रममा मर्मतका लागि लमही नगरपालिकाका ड्राइभर मधुसूदन केसीलाई बोलाइएको र उनले कार्यालयको गाडी लिएर सहयोग गर्न गएको उल्लेख गरिएको छ ।
मर्मतपछि फर्किने क्रममा २०८२ जेठ ९ गते राति लमही–घोराही सडकखण्ड अन्तर्गत मुसोट चौपट्टा क्षेत्रमा उक्त गाडी दुर्घटनामा परेको नगरपालिकाले पुष्टि गरेको छ । दुर्घटनामा चालक केसीको खुट्टा भाँचिएको, गाडीमा सवार नगर प्रहरी र ड्राइभर केसीका छोरा सामान्य घाइते भएको जनाइएको छ ।
दुर्घटनापछि गाडी घोराहीस्थित सिप्रदी मोटर्समा राखिएको भए पनि त्यसपछि कसरी र कसको अनुमतिमा नेपालगञ्जको अल एटु जेड अटो वर्कसपमा पठाइयो भन्नेबारे कार्यपालिकालाई जानकारी नभएको विज्ञप्तिमा उल्लेख छ । नगरपालिकाले दुर्घटनापछि मर्मत प्रक्रिया अघि बढाउने निर्णय मंसिर २५ गतेको कार्यपालिका बैठकबाट गरिएको जनाएको छ तर उक्त विषय सार्वजनिक भएपछि अख्तियारमा उजुरी परेको र त्यसपछि अनुसन्धान प्रक्रिया अघि बढेको बताइएको छ ।
यसैबीच मर्मतकै क्रममा फागुन २४ गते राति नेपालगञ्जस्थित अल एटु जेड अटो वर्कसपमा विद्युत सर्ट भई आगलागी हुँदा उक्त गाडी सहित अन्य सवारी साधन र उपकरणहरू जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । हाल उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान गरी प्रतिवेदन पेश गरिसकेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट थप अनुसन्धान भइरहेको नगरपालिकाले जनाएको छ ।
क्षतिग्रस्त गाडीको वीमा दाबीका लागि सिद्धार्थ प्रिमियम इन्सोरेन्स लिमिटेड घोराहीमा आवश्यक प्रक्रिया अघि बढाइसकिएको नगर प्रमुख जागराज चौधरीले जानकारी दिएका छन् । उता यस घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग राख्दै जेन–जेड युथ रिभोलुसन अफ देउखुरीका प्रशान्त वसेलको नेतृत्वमा केही दिनयता हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको थियो ।



