भगवानपुर स्थित राप्तीको बगरमा सामूहिक खरभुजा खेती, बाँझो जमिनबाट आम्दानी खोजिदै



भगवानपुर स्थित राप्तीको बगरमा सामूहिक खरभुजा खेती, बाँझो जमिनबाट आम्दानी खोजिदै
भालुवाङ ७ वैशाख । दाङको राप्ती गाउँपालिका–६ भगवापुर स्थित राप्ती नदीको बगरमा सामूहिक रूपमा खरभुजा खेती सुरु गरिएको छ । वर्षौंदेखि बाँझो र प्रयोगविहीन रहँदै आएको नदी उकास जमिनलाई सदुपयोग गर्दै कृषकहरूले सामूहिक खेतीको अभ्यास थालेका हुन्। करिब २ बिघा क्षेत्रफलमा सरस्वती, कृषा र लक्ष्मी जातका खरभुजा लगाइएको छ।
सि.एस.आर.सी. संस्थाको सहयोगमा बिउ तथा मल्चिङ (प्लास्टिक) उपलब्ध गराइएपछि शिव मन्दिर कृषक समूहमा आवद्ध २५ जना सदस्यमध्ये ८ जना किसानले संयुक्त रूपमा खेती सुरु गरेका हुन् । अन्य बालीको तुलनामा खरभुजा गर्मी मौसमका लागि उपयुक्त हुनुका साथै बजार माग राम्रो रहेकाले पहिलो पटक यस क्षेत्रमै खरभुजा खेती गरिएको समूहका सदस्य सोमबहादुर चौधरीले बताए। पुस वा माघ महिनामा बिउ रोपिएपछि करिब ६० देखि ७० दिनमै उत्पादन लिन सकिने भएकाले किसानमा उत्साह बढेको छ। हाल खेतमा प्रति बोट ३ देखि ४ वटासम्म फल लाग्ने गरेको छ। सरस्वती जातका खरभुजा आधा केजीदेखि ४ केजीसम्म, लक्ष्मी जातका ५ देखि ७ केजी र कृषा जातका १० देखि १३ केजीसम्म उत्पादन हुने गरेको किसानहरूले बताएका छन्। बजारमा सरस्वती जातको माग बढी रहेको छ।
हाल सरस्वती जातको खरभुजा प्रति केजी करिब ८० रुपैयाँ र लक्ष्मी जात करिब ६० रुपैयाँमा बिक्री भइरहेको समूहका अध्यक्ष देवीप्रसाद चौधरीले जानकारी दिए। उनले खेतीमा विषादी प्रयोग नगरी अर्गानिक विधि अपनाइएको समेत बताए। अर्गानिक उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएकाले राम्रो मूल्य पाउने अपेक्षा गरिएको छ। राप्ती नदीको बगर क्षेत्र लामो समयदेखि बाँझो रहँदै आएको थियो। व्यक्तिगत रूपमा खेती गर्न कठिन हुने भएकाले प्रयोगमा आउन सकेको थिएन। सामूहिक रूपमा खेती गर्दा श्रम, लगानी र जोखिम बाँडफाँड गर्न सकिने भएकाले काम सहज भएको समूहकी सदस्य रविना चौधरीले बताइन्। उनका अनुसार अहिले खरभुजा बिक्रीका लागि तयार भइसकेको छ।
समूहमा २५ जना सदस्य भए पनि हाल ८ जनाले मात्र खरभुजा खेती गरेका छन्। यसअघि बदाम र सखरखण्ड खेती गर्दै आएका किसानहरूले अहिले खरभुजाबाट राम्रो आम्दानी हुने अपेक्षा गरेका छन्। सामूहिक खेतीका कारण उत्पादन लागत घट्ने, अनुभव साटासाट हुने र काममा सहजता आउने किसानहरूको भनाइ छ। यद्यपि यस खेतीमा केही चुनौती पनि देखिएका छन्। प्रारम्भिक लगानी धेरै लाग्ने, किराको समस्या देखिन सक्ने र बजार व्यवस्थापन आवश्यक पर्ने किसानहरूले बताएका छन्। विशेषगरी अर्गानिक तरिकाले खेती गर्दा किराको नियन्त्रण गर्न थप मेहनत आवश्यक पर्ने उनीहरूको अनुभव छ। बाँझो जमिनलाई उत्पादनमूलक बनाउँदै सामूहिक श्रमको प्रयोगबाट सुरु गरिएको यो खरभुजा खेती सफल भएमा आगामी दिनमा अन्य किसानहरू पनि यसतर्फ आकर्षित हुने अपेक्षा गरिएको छ। स्थानीय तहको सहयोग र उचित बजार व्यवस्थापन भएमा राप्ती नदीको बगर क्षेत्रलाई उत्पादनमूलक कृषिभूमिमा रूपान्तरण गर्न सकिने देखिएको छ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे