चर्को घाममा छातामुनि व्यापार : राप्ती–३ को हाट बजारमा टहरा अभावले किसान पीडित
भालुवाङ ७ वैशाख । दाङको राप्ती गाउँपालिका–३ मसुरिया सिरिचौरस्थित हाटबजारमा वैशाखको चर्को गर्मीका बीच किसानहरू खुला आकाशमुनि छाता ओढेर तरकारी बिक्री गर्न बाध्य भएका छन् ।
राप्ती गाउँपालिकाले किसान र उपभोक्ताको सहजताका लागि सञ्चालनमा ल्याएको उक्त हाटबजार अहिले संरचना अभावका कारण किसानहरूका लागि सास्तीको कारण बनेको छ । हाट बजार सञ्चालनमा आएपछि स्थानीय किसानहरूले उत्पादन गरेका तरकारी तथा अन्य कृषि उपज बिक्री गर्ने सहज वातावरण बनेको थियो । उपभोक्ताले पनि ताजा तरकारी सहजै पाउने भएपछि बजारको आकर्षण बढ्दै गएको थियो । तर बजार व्यवस्थापनमा आवश्यक आधारभूत पूर्वाधार नहुँदा किसानहरूले अपेक्षित लाभ लिन सकेका छैनन् । विशेष गरी टहरा (छाना) अभावले गर्दा किसानहरू घाम र पानी दुवैबाट प्रभावित हुँदै आएका छन् । वैशाख महिनाको प्रचण्ड घाममा हाट बजारमा व्यापार गर्न आउने किसानहरू बिहानैदेखि बेलुकासम्म छाता ओढेर बस्न बाध्य छन् । यसले उनीहरूको स्वास्थ्यमा असर पार्नुका साथै बिक्रीका लागि ल्याइएका तरकारीहरू पनि छिट्टै सुक्ने र बिग्रने समस्या देखिएको छ । “हाट बजारमा व्यापार त राम्रो हुन्छ, तर घामले तरकारी पोलिन्छ, छिट्टै ओइलिन्छ । छाना नभएपछि के गर्ने, छातामुनि बस्नुपर्छ,” एक स्थानीय किसानले गुनासो गरे ।
अर्का किसानका अनुसार वर्षायाममा झन् समस्या बढ्ने गरेको छ । पानी परेपछि बजारमै उभिन गाह्रो हुने, सामान जोगाउन समस्या हुने र व्यापार नै प्रभावित हुने अवस्था आउने गरेको उनीहरूको भनाइ छ । “गर्मीमा घामले सताउँछ, पानी पर्दा भिजेर सामान नष्ट हुन्छ । यस्तो अवस्थामा कसले हाम्रो समस्या बुझ्ने ?” उनीहरूले प्रश्न गरेका छन् । गाउँपालिकाले हाट बजार सञ्चालन गरे पनि दीर्घकालीन व्यवस्थापनमा ध्यान नदिएको किसानहरूको आरोप छ । एउटा मात्रै टहराको भरमा बजार सञ्चालन गर्दा अधिकांश किसान खुला स्थानमै व्यापार गर्न बाध्य भएका छन् । यसले हाटबजारको उद्देश्य नै कमजोर बनाएको उनीहरूको भनाइ छ ।
यस्तै पछिल्लो समय हाटबजारमा बिचौलियाहरूको सक्रियता पनि बढ्दै गएको किसानहरूले बताएका छन् । किसानका अनुसार केही व्यापारीहरूले सस्तो मूल्यमा किसानबाट तरकारी किनेर सोही बजारमा महँगो मूल्यमा बिक्री गर्ने गरेका छन् । यसले किसानको नाफा घट्नुका साथै उपभोक्ताले पनि महँगो मूल्य तिर्नुपर्ने अवस्था सिर्जना भएको छ । “हामीले उत्पादन गरेको तरकारी सस्तोमा किन्छन् र त्यहीँ बजारमा महँगोमा बेच्छन् । यसरी बिचौलियाले फाइदा लिन्छन्, किसान मर्कामा पर्छ,” एक किसानले गुनासो गरे । यस समस्यालाई नियन्त्रण गर्न गाउँपालिकाले नियमित अनुगमन गर्नुपर्ने उनीहरूको माग छ ।
किसानहरूका अनुसार हाटबजारमा मूल्य निर्धारण, गुणस्तर नियन्त्रण तथा बिचौलियाको गतिविधि नियमनका लागि प्रभावकारी अनुगमनको अभाव छ । स्थानीय सरकारले समय–समयमा अनुगमन नगर्दा यस्ता विकृति बढ्दै गएको उनीहरूको भनाइ छ । यस विषयमा राप्ती गाउँपालिका कृषि विकास शाखा प्रमुख बरसाती गडरिया सँग बुझ्दा हाटबजार सञ्चालन भइरहेको क्षेत्र सामुदायिक वनभित्र पर्ने भएकाले स्थायी टहरा निर्माणमा समस्या भएको जानकारी दिए । “वन क्षेत्र भएकाले अनुमति बिना संरचना बनाउन मिल्दैन । त्यसैले टहरा निर्माणमा समस्या भएको हो,” उनले बताए । उनका अनुसार टहरा निर्माणका लागि सम्बन्धित वन कार्यालयसँग समन्वय भइरहेको छ । “हामीले दीर्घकालीन समाधानका लागि वनसँग छलफल र पहल गरिरहेका छौं । केही समय लाग्न सक्छ, तर स्थायी समाधान निकाल्ने प्रयास भइरहेको छ,” गडरियाले भने । हाटबजार राप्ती गाउँपालिका तथा हाटबजार व्यवस्थापन समितिको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ । सुरुका दिनहरूमा बजारमा विद्युत् सुविधा समेत नहुँदा किसानहरू अन्धकारमै व्यापार गर्न बाध्य थिए । तर सञ्चारमाध्यमको निरन्तर खबरदारीपछि हाट बजार क्षेत्रमा बत्ती जडान गरिएको छ, जसले केही राहत दिएको छ । तर, अहिले टहरा अभाव प्रमुख समस्या बनेको छ । किसानहरूका अनुसार विद्युत् सुविधा भए पनि छाना नहुँदा दिनको समयमा व्यापार गर्न निकै कठिन भइरहेको छ । विशेष गरी गर्मी र वर्षायाममा बजार सञ्चालन नै चुनौतीपूर्ण बन्दै गएको छ ।
स्थानीयहरूले हाटबजारलाई व्यवस्थित बनाउन तत्काल अस्थायी टहरा निर्माण गर्नुपर्ने माग गरेका छन् । साथै दीर्घकालीन रूपमा स्थायी संरचना निर्माण, बिचौलिया नियन्त्रण, नियमित अनुगमन तथा किसानमैत्री नीति लागू गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । किसानहरू भन्छन्—हाटबजारको उद्देश्य किसानलाई सहज बजार उपलब्ध गराउनु हो भने त्यसअनुसार पूर्वाधार पनि तयार हुनुपर्छ । अन्यथा यस्तो बजारले किसानलाई फाइदा भन्दा बढी सास्ती दिने उनीहरूको भनाइ छ । अहिलेको अवस्थामा हाटबजार किसानका लागि अवसर र चुनौती दुवै बनेको छ । एकातिर उत्पादन बिक्री गर्ने ठाउँ पाएका छन् भने अर्कोतर्फ संरचना अभाव र व्यवस्थापन कमजोरीका कारण दुःख पनि खेपिरहेका छन् । स्थानीय सरकार, सम्बन्धित निकाय र सरोकारवालाहरूबीच समन्वय गरेर समस्याको समाधान खोज्न सके हाटबजारलाई अझ प्रभावकारी बनाउन सकिने देखिन्छ । अन्यथा किसानहरू यस्तै चर्को घाममा छातामुनि बसेर व्यापार गर्न बाध्य रहने अवस्था अन्त्य नहुने निश्चित छ ।

