देउखुरीका चार स्थानीय तहबीच विपद् व्यवस्थापनमा सहकार्य : संयुक्त कार्ययोजना सार्वजनिक



देउखुरीका चार स्थानीय तहबीच विपद् व्यवस्थापनमा सहकार्य : संयुक्त कार्ययोजना सार्वजनिक

भालुवाङ १७ चैत । दाङको राप्ती गाउँपालिकाको आयोजनामा स्थानीय तहहरूबीच समन्वयात्मक बैठक मंगलबार राप्ती गाउँपालिकाको सभाहल मसुरियामा सम्पन्न भएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले दुई महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

देउखुरी उपत्यकामा रहेका लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाले संयुक्त रूपमा विपद् व्यवस्थापनका कार्यहरू अघि बढाउने सहमति गरेका छन् । हावाहुरी, खडेरी, आगलागी तथा पानीजन्य विपदकाे जाेखिम न्यूनिकरणका लागि स्थानीय सरकारविच सहकार्य बढाउन थालिएको हाे । बैठकले विपद् व्यवस्थापनका लागि आवश्यक सामग्रीको पहिचान गरी आपसी समन्वयमा राहत तथा उद्धार सामग्री खरिद गर्ने र ती सामग्री नजिकका सुरक्षा निकायलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ। त्यस्तै, खुला क्षेत्रको पहिचान र संरक्षण गर्दै सबै स्थानीय तहलाई पायक पर्ने कम्तिमा दुई स्थानमा साझा प्रयासमा सुरक्षित आश्रयस्थल निर्माण गर्ने सहमति भएको छ। राप्ती नदी र राजमार्ग क्षेत्रमा हुन सक्ने सम्भावित विपद्सँग जुध्न पूर्वतयारी तथा प्रतिकार्यका लागि ठोस योजना बनाउने निर्णय पनि बैठकले गरेको छ।

विपद्को समयमा मानवीय सहायताका लागि आश्रयस्थलमा बसोबास, खाना, कपडा लगायत आधारभूत आवश्यकताको व्यवस्थापन गर्न आवश्यक स्रोत र कोषको व्यवस्था गर्ने विषयमा पनि चारवटै स्थानीय तह सहमत भएका छन्। साथै, विपद् व्यवस्थापनमा सक्षम जनशक्ति तयार गर्न प्रत्येक स्थानीय तहबाट निश्चित युवाहरूलाई छनोट गरी कम्तिमा ७ दिनको अभ्यास सहितको तालिम प्रदान गर्ने र उनीहरूलाई आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउने निर्णय गरिएको छ। यसैगरी देउखुरी उपत्यकाभित्रका स्थानीय तहबीच समन्वय बैठकलाई नियमित र व्यवस्थित बनाउन एक महिनाभित्र वर्णानुक्रम अनुसार बैठक आयोजना गर्ने सहमति भएको छ। कार्यक्रममा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले विपद् कुनै पूर्वसूचना बिना आउने भएकाले नागरिक स्वयं नै सचेत हुनुपर्ने बताएका छन् । उनले विपदबाट सुरक्षित रहन समयमै पूर्वतयारी आवश्यक हुने उल्लेख गर्दै नगरपालिकाले हरेक विपद्का घटनामा निस्वार्थ रूपमा सेवा गर्दै आएको जानकारी दिए ।

त्यस्तै गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले विपद् व्यवस्थापनमा सूचना प्रणालीको प्रभावकारी व्यवस्थापन अपरिहार्य रहेको बताए । उनले समयमै सही सूचना प्रवाह हुन सकेमा धेरै क्षति न्यूनीकरण गर्न सकिने धारणा राखे । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव विनोद लामिछानेले विपद् पूर्वतयारीका लागि जनस्तरमै व्यापक सचेतना फैलाउन आवश्यक रहेको बताए । उनले समुदायलाई विपद् प्रतिकार्यका बारेमा प्रशिक्षित गर्नुपर्नेमा जोड दिए । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विपद्का धेरै घटनाहरू मानवकै क्रियाकलापका कारण निम्तिने भएकाले स्थानीय तहहरू अझ बढी सजग हुनुपर्ने अवस्था आएको बताए । उनले विशेषगरी भूकम्पजस्ता प्राकृतिक विपदबाट जोगिन भूकम्प प्रतिरोधात्मक घर निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

त्यसैगरी लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगी र राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीले सर्पदंश जस्ता जोखिमका लागि भेन्टिलेटर सहितको उपचार सेवा आवश्यक रहेको बताए । जसका लागि चार वटा स्थानीय तहकाे विचमा सहकार्य आवश्यक रहेकाेमा जाेड दिए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रशासकीय अधिकृत दीपेन्द्र श्रेष्ठले त्यहाँका असल अभ्यास प्रस्तुत गर्दै एकीकृत कोष, सामग्री र प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगी, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुले धारणा राखेका थिए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले देउखुरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूले पूर्वतयारी, समन्वय र जनचेतनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले विपद् जोखिम न्यूनीकरणका लागि द्रुत प्रतिकार्य संयन्त्रको विकास तथा स्थानीय स्तरमै क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । देउखुरी क्षेत्र बाढी, डुबान, कटान, पहिरो, आगलागी, भूकम्प, सर्पदंश तथा सवारी दुर्घटनाजस्ता विपद्को उच्च जोखिममा रहेको निष्कर्ष बैठकले निकालेको छ । यसलाई ध्यानमा राख्दै जोखिम न्यूनीकरण, दमकल व्यवस्थापन, सर्पदंश उपचार सेवा, खोज उद्धार, गोदाम व्यवस्थापन र विपद् कोष सञ्चालन लगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । देउखुरी उपत्यकामा विपद् व्यवस्थापनलाई थप व्यवस्थित, समन्वित र प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले गरेका थिए।बैठकमा लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विपद् फोकल पर्सन, युनिसेफका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे