हरेक नागरिकलाई शुद्ध खानेपानी पु¥याउने हामी सवैको साझा दायित्व हो : अध्यक्ष विष्ट
भालुवाङ १२ वैशाख । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले हरेक नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउनु राज्यको मात्र दायित्व नभई सम्पूर्णको साझा दायित्व भएको बताएका छन् ।
संविधानलेनै नागरिकलाई आधारभूत सेवाका रूपमा स्वच्छ खानेपानीको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहदेखि संघीय सरकारसम्म समन्वय अपरिहार्य रहेको स्पष्ट पारे । सुन्दरपुर बृहत् खानेपानी उपभोक्ता समिति राप्ती गाउँपालिका–४ सुन्दरपुरको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले खानेपानी जस्तो आधारभूत आवश्यकताको विषयमा अझै पनि नागरिकले शुल्क तिर्नुपर्ने बाध्यता अन्त्य गर्न दीर्घकालीन नीति आवश्यक रहेको बताए, “खानेपानी सेवा नागरिकको मौलिक आवश्यकता हो । यसलाई सहज, सर्वसुलभ र दीगो बनाउन खानेपानी संस्थाहरूबीच समायोजन तथा मर्ज आवश्यक छ, जसका लागि स्थानीय, प्रदेश र संघ सरकारबीच सहकार्य अपरिहार्य छ ।”
अध्यक्ष विष्टले आगामी आर्थिक वर्षमा खानेपानी क्षेत्रमा आवश्यकता अनुसार बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्दै सबै नागरिकसम्म सुरक्षित पानी पु¥याउने लक्ष्यमा गाउँपालिका प्रतिबद्ध रहेको बताए । उनले खानेपानी योजनाहरूको दीगो सञ्चालनका लागि स्थानीय उपभोक्ता समितिहरूलाई सशक्त बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै खानेपानी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष प्रदिप गौतमले पछिल्लो समय खानेपानीको मुहान संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताए । उनले प्राकृतिक स्रोतहरूको अनियन्त्रित दोहन, नदी–नाला उत्खनन तथा वन विनाशका कारण पानीका स्रोतहरू संकटमा पर्दै गएको उल्लेख गर्दै यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए “पानीको अभाव केवल व्यवस्थापनको समस्या होइन, यो वातावरणीय संकटसँग पनि जोडिएको विषय हो,” उनले भने ।
गौतमले गुणस्तरीय खानेपानी उपलब्ध गराउन पानी शुद्धीकरण प्रणाली अनिवार्य रहेको उल्लेख गर्दै प्रत्येक क्षेत्रमा प्रयोगशाला स्थापना गरी पानीको गुणस्तर परीक्षण गर्नुपर्ने आवश्यकता औंल्याए । “स्वच्छ पानीको सुनिश्चितता बिना स्वस्थ समाजको परिकल्पना सम्भव छैन,” उनले थपे । त्यस्तै कार्यक्रमका वक्ताहरूले सुन्दरपुर क्षेत्रमा खानेपानी व्यवस्थापनलाई अझ व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन नयाँ कार्यसमितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । उनीहरूले स्थानीय स्तरमा पानीको संरक्षण, वितरण र उपयोगमा जनसहभागिता बढाउनुपर्नेमा जोड दिएका थिए ।
समितिका अध्यक्ष उमाकान्त अधिकारी (बसन्त)को अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिरबहादुर चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका राप्ती गाउँपालिका सभापति दोर्णबहादुर जिसी, मौरीघाट बजार व्यवस्थापन समितिका अध्यक्ष बेगम बहादुर बस्नेत, प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष तिर्थराज ज्ञवाली र सिमलखुट्टी टोल विकास संस्थाका अध्यक्ष शरद गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। समितिका सदस्य उमा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समितिका सचिव जीवराज वलीले गरेका थिए ।
यसै बीच शनिवारनै सम्पन्न प्रथम अधिवेशनले शरद गिरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा सरस्वती आचार्य, सचिवमा गोविन्द केसी, कोषाध्यक्षमा कृष्ण कार्की चयन भएका छन् भने सदस्यहरूमा तेजबहादुर रावत, नेत्र भण्डारी, तिलकबहादुर केसी, बालिका महरा र कविता पोख्रेल रहेका छन् । त्यस्तै लेखा समिति संयोजकमा रामबहादुर केसी चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष शरद गिरीले आफूहरूलाई दिइएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै सुन्दरपुर क्षेत्रमा शुद्ध र नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न योजनाबद्ध रूपमा अघि बढ्ने बताए । उनले उपभोक्ताको विश्वासलाई केन्द्रमा राखेर पारदर्शी र उत्तरदायी ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

