प्रगतिनगर शहरी खानेपानीको अनुगमन : पानी चुहावट रोक्न उपभोक्ताहरूलाई सुझाव
भालुवाङ १३ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको प्रगतिनगर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी सेवाको गुणस्तर सुधार र पानीको दुरुपयोग नियन्त्रण गर्ने उद्देश्यले खानेपानीको स्थलगत अनुगमन गरेको छ।
संस्थाको मातहत रहेको अनुगमन तथा गुणस्तर उपसमितिले शुक्रबार संस्थाको कार्यक्षेत्रहरूमा पुगेर धारा, ट्याङ्की तथा बोरिङ प्रणालीको अवस्थाबारे प्रत्यक्ष निरीक्षण गरेको हो। उपसमितिका संयोजक ओमप्रकाश गुप्ताको नेतृत्वमा सदस्यहरू समशेर केसी र डिलबहादुर खत्री सम्मिलित टोलीले वडा नम्बर ५, ७ र ८ का विभिन्न क्षेत्रमा पुगेर उपभोक्ताको धाराहरूको अवस्था, पानी आपूर्ति प्रणाली तथा भौतिक संरचनाको निरीक्षण गरेका थिए। अनुगमनका क्रममा धेरै स्थानमा धाराबाट पानी चुहावट भइरहेको, धारामा टुटी (ट्याप) प्रयोग नगरिएको तथा पाइप जडान कमजोर अवस्थामा रहेको पाइएको छ। संयोजक गुप्ताका अनुसार, पानीको चुहावटले खानेपानीको ठूलो मात्रामा नोक्सानी मात्र नभई भविष्यमा पानीको अभाव सिर्जना हुन सक्ने खतरा समेत बढाएको छ। “हामीले अनुगमन गर्दा धेरै उपभोक्ताको घरमा धाराबाट निरन्तर पानी बगिरहेको देख्यौं। कतिपयले टुटी नै प्रयोग नगरेको पाइयो, जसले गर्दा पानी खेर जाने समस्या गम्भीर देखिएको छ,” उनले भने। उपसमितिले यस्तो अवस्थालाई सुधार गर्न उपभोक्ताहरूलाई सचेत बनाउँदै तत्काल टुटी जडान गर्न, बिग्रिएको धारा मर्मत गर्न र अनावश्यक रूपमा पानी नबगाउन सुझाव दिएको छ।
साथै पानीको सही व्यवस्थापन र संरक्षणमा उपभोक्ताहरूको भूमिका महत्वपूर्ण हुने भएकाले सबैलाई जिम्मेवार बन्न आग्रह गरिएको छ। अनुगमन टोलीले केवल उपभोक्ताका धारामात्र नभई खानेपानी ट्याङ्की र बोरिङको अवस्था पनि निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा केही ट्याङ्कीबाट पानी चुहावट भइरहेको र बोरिङ क्षेत्रमा समेत मेसिनरी समस्या देखिएको पाइएको छ। यसले दीर्घकालीन रूपमा खानेपानी आपूर्तिमा असर पार्न सक्ने भएकाले तत्काल मर्मत आवश्यक रहेको निष्कर्ष निकालिएको छ। संयोजक गुप्ताले बताए अनुसार अनुगमनपछि तयार पारिने प्रतिवेदनमा देखिएका समस्याहरू, सुधारका उपायहरू तथा आवश्यक सिफारिसहरू समेटेर संस्थाको कार्यसमितिलाई बुझाइनेछ। “हामीले देखेका सबै समस्यालाई समेटेर विस्तृत प्रतिवेदन तयार पार्दैछौं। कार्यसमितिले त्यसलाई आधार बनाएर आवश्यक निर्णय लिनेछ,” उनले जानकारी दिए। वडा नम्बर ५ अन्तर्गत कालापानी क्षेत्रका केही उपभोक्ताको घरधुरीमा पुगेर धारा निरीक्षण गर्दा पाइप जडान कमजोर रहेको, धारामा टुटी नभएको तथा कतिपय स्थानमा पाइप फुटेर पानी चुहावट भइरहेको देखिएको थियो। त्यस्तै, वडा नम्बर ७ मा पनि उस्तै समस्या दोहोरिएको पाइयो। धेरै उपभोक्ताहरूले पानीको सही उपयोगमा ध्यान नदिएको तथा संरचनागत कमजोरीका कारण पानी खेर जाने अवस्था देखिएको अनुगमन टोलीले जनाएको छ।
वडा नम्बर ८ मा गरिएको अनुगमनमा भने खानेपानी ट्याङ्कीमा समस्या नभए पनि पानीको गुणस्तरमा समेत असर पार्न सक्ने भएकाले नियमित सरसफाइ र मर्मतमा ध्यान दिनुपर्ने सुझाव दिइएको छ। अनुगमन टोलीले उपभोक्ताहरूबाट सुझाव संकलन समेत गरेको थियो। अधिकांश उपभोक्ताहरूले पानी आपूर्तिमा कहिलेकाहीँ समस्या आउने, दबाब कम हुने तथा पाइपलाइन मर्मतमा ढिलाइ हुने गुनासो गरेका थिए। केही उपभोक्ताले भने संस्थाले नियमित अनुगमन र मर्मत कार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उपसमितिले उपभोक्ताहरूको गुनासोलाई समेत प्रतिवेदनमा समेटेर समाधानका लागि पहल गर्ने जनाएको छ। साथै, खानेपानी सेवा दिगो बनाउनका लागि दीर्घकालीन योजना आवश्यक रहेको औंल्याइएको छ। अबको दिनमा नियमित अनुगमनलाई अझ प्रभावकारी बनाइने छ। साथै, उपभोक्ताहरूलाई सचेत गराउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, पानी संरक्षणसम्बन्धी अभियान चलाउने तथा संरचनागत सुधारमा लगानी बढाउने योजना बनाइएको छ। स्थानीय तहको सहकार्यमा खानेपानी प्रणालीलाई अझ व्यवस्थित र भरपर्दो बनाउन पहल गरिने पनि संस्थाले जनाएको छ। यसका लागि आवश्यक बजेट व्यवस्थापन, प्राविधिक सहयोग तथा उपभोक्ताको सक्रिय सहभागिता अनिवार्य हुने बताइएको छ।

