दाङमा क्षयरोगबाट चालु आर्थिक वर्षको ९ महिनाकाे अवधीमा २० जना संक्रमितको मृत्यु
दाङ १० चैत । दाङमा क्षयरोगका कारण वर्षेनि नागरिकहरु मृत्यु भइरहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा चालु आर्थिक वर्षको नौ महिना नबित्दै २० जना संक्रमितको मृत्यु भएको हो । औषधि सेवनमा लापरवाहीसँगै दीर्घरोग लागेका संक्रमितहरुको मृत्यु भएको पाइएको छ । मधुमेह, उच्च रक्तचाप, मिर्गौलाका रोगी, क्यान्सर लागेका व्यक्तिहरुलाई उपचार गर्दा गर्दै पनि ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख मेघराज पौडेलले बताएका छन् ।
सरकारले क्षयरोगीका लागि निशुल्क औषधि उपलव्ध गराए पनि विरामीको मृत्यु रोक्न नसकिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । आर्थिक वर्ष २०८१/८२ मा दाङमा ४२ जनाले क्षयरोगकै कारण मृत्यु भएको थियो । जसमा ३६ जना पुरुष र छजना महिला थिए । चालु आर्थिक वर्षको चैत महिनासम्म मृत्यु हुनेमानेमा पनि पुरुष धेरै छन् । यस वर्ष १२ पुरुष र आठ महिलाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

