गहुँ उत्पादन गर्ने किसान खोज्दै राप्ती गाउँपालिका : प्रथम हुनेलाई नगद १२ हजार रूपैयाँ पुरस्कार
भालुवाङ ९ चैत । दाङको राप्ती गाउँपालिकाले उत्कृष्ट गहुँ उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने भएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत प्रतिइकाइ क्षेत्रफलमा सबैभन्दा बढी गहुँ उत्पादन गर्ने कृषकलाई छनोट गरी सम्मान गरिने लागिएको छ । पछिल्लो समय युवाहरू वैदेशिक रोजगारीमा जाने तथा कृषि उत्पादन घट्ने क्रममा रहेकोले कृषि उत्पादनलाई वृद्धि गर्नुका साथै कृषकहरूलाई आधुनिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले ‘कृषक सम्मान कार्यक्रम’ अन्तरगत गहुँ खेती गर्ने कृषक मध्ये उत्पादनका आधारमा उत्कृष्ट कृषक छनोट गरी नगद पुरस्कार प्रदान गर्न लागिएको कृषि शाखा प्रमुख बरसाती गडरियाले जानकारी दिएका छन् । गडरियाका अनुसार प्रथम हुने कृषकलाई नगद १२ हजार रुपैयाँ, द्वितीयलाई १० हजार रुपैयाँ र तृतीय हुने कृषकलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताए ।
कार्यक्रममा सहभागी हुन इच्छुक कृषकले तोकिएका मापदण्ड पूरा गर्नुपर्ने छ। कम्तीमा पाँच कट्ठा क्षेत्रफलमा गहुँ खेती गरिएको हुनुपर्नेछ भने खेती गरिएको स्थान स्पष्ट रूपमा खुलाउनुपर्ने छ। उत्पादन मापनका लागि करिब १० वर्गमिटर क्षेत्रफलको नमुना प्लट छुट्याई सोही प्लटबाट उत्पादनको नमुना सङ्कलन गरी वास्तविक उत्पादनको आधारमा मूल्याङ्कन गरिने छ। उत्पादन मापन तथा अभिलेख सङ्कलन कार्य गाउँपालिकाको कृषि विकास शाखाको रोहवरमा गरिने छ। कृषकले गहुँ काट्ने तथा झार्ने समय अघि नै कृषि विकास शाखालाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ। गाउँपालिकाले कार्यक्रमका लागि आवश्यक कागजात समेत तोकेको छ। सहभागी हुन चाहने कृषकले अनुसूची–१ बमोजिमको निवेदन र अनुसूची–२ अनुसारको विवरणसहित आवेदन दिनुपर्नेछ। साथै, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिसपत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र गाउँपालिकाको कृषि विकास शाखामा आवेदन पेस गर्नुपर्नेछ। तोकिएको समयसीमाभित्र आवेदन नदिने कृषक कार्यक्रमका लागि अयोग्य ठहरिने जनाइएको छ।
गाउँपालिकाले यसअघि पनि धान उत्पादन गर्ने कृषकलाई सम्मान गर्दै आएको छ भने दुध उत्पादनमा आधारित प्रोत्साहन रकमसमेत वितरण गर्दै आएको छ। समूह वा डेरीमार्फत् कृषकलाई उत्पादनका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको गाउँपालिकाले जनाएको छ। यस्ता कार्यक्रमले कृषकलाई प्रतिस्पर्धात्मक ढङ्गले खेती गर्न प्रेरित गर्नुका साथै उत्पादन लागत घटाउँदै उत्पादन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। पछिल्ला वर्षहरूमा मौसमीय जोखिम र बढ्दो उत्पादन लागतका कारण प्रभावित कृषकलाई प्रोत्साहन गर्ने नीति स्थानीय तहले प्राथमिकतामा राख्दै आएका छन्।गहुँ जस्ता प्रमुख खाद्यान्न बालीको उत्पादन वृद्धि गर्न र कृषकलाई प्रोत्साहित गर्न राप्ती गाउँपालिकाको यो कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
