शिक्षा समिति बैठक सम्पन्न, शतप्रतिशत नतिजाका लागि तयारी गर्न प्रमुखको निर्देशन
देउखुरी ५ चैत । लमही नगरपालिकाको शिक्षा समितिको बैठक सम्पन्न भएको छ । बैठकले यही चैत ८ गतेदेखि सञ्चालन हुने नगरस्तरीय परीक्षालाई नतिजामुखी बनाउने विषयमा व्यापक छलफल गरेको छ ।
शिक्षा शाखा अधिकृत केशव लम्सालका अनुसार बैठकमा परीक्षाको तयारी, व्यवस्थापन तथा गुणस्तरीय नतिजा सुनिश्चित गर्ने उपायहरूबारे विस्तृत रूपमा छलफल गरिएको थियो । बैठकलाई सम्बोधन गर्दै नगर प्रमुख जोगराज चौधरीले नगरस्तरीय परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्ने लक्ष्यसहित आवश्यक तयारी तत्काल सुरु गर्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन् । उनले बालबालिकाको भविष्यप्रति गम्भीर हुनुपर्नेमा जोड दिँदै विद्यार्थीहरूलाई सभ्य र मर्यादित ढंगले परीक्षामा सहभागी गराउन आग्रह गरे । साथै शिक्षण सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउन सरोकारवाला निकायलाई सक्रिय हुन पनि उनले निर्देशन दिए ।
बैठकमा कक्षा ५ र ८ को परीक्षा सञ्चालन हुने केन्द्रका केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण समेत गरिएको थियो । कार्यक्रममा शिक्षा समिति सदस्यहरू, केन्द्राध्यक्षहरू तथा परीक्षा समिति सदस्यहरूको सहभागिता रहेको थियो । नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा सम्पन्न बैठकको सहजीकरण शिक्षा शाखाका अम्बिका शर्माले गरेका थिए । शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्दै उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले बैठकमा विभिन्न विषयमा छलफल भएको जनाइएको छ साथै विद्यालयस्तरदेखि नै तयारीलाई सुदृढ बनाउन आवश्यक समन्वय र सहकार्यमा जोड दिइएको छ ।
