विपद् जोखिम न्युनीकरण र संवेदनशीलतामा ध्यान दिन पत्रकारहरुलाई सुझाव
लमही ४ चैत । बढ्दो विपद्को जोखिम न्यूनीकरण गर्दै जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित राख्न सञ्चारकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, युरोपियन युनियन, पिपुल इन निड, स्वान, सेभ द चिल्ड्रेन तथा नेपाल पत्रकार महासंघ दाङ शाखाको समन्वयमा सञ्चालित ‘प्रतिबद्ध परियोजना’ अन्तर्गत दाङको लमहीमा बुधबार आयोजित “विपद्का सवालमा सञ्चारकर्मीसँग कार्यशाला गोष्ठीमा यस्तो धारणा व्यक्त गरिएको हो । कार्यक्रमका सहभागीहरूले विपद् जोखिम न्यूनीकरणका लागि सञ्चारकर्मीहरूले केवल समाचार सम्प्रेषण गर्ने मात्र नभई सचेतना अभिवृद्धि गर्ने, जोखिम क्षेत्रको पहिचान गर्ने तथा सम्बन्धित निकायलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । उनीहरूले विपद् पूर्वतयारी, जोखिमको पहिचान, उद्धार, राहत तथा पुनस्र्थापना सम्बन्धी विषयलाई पत्रकारहरूले प्राथमिकताका साथ उठान गर्न सके समुदायमा हुने क्षति न्यूनीकरण गर्न सकिने बताए ।
कार्यशालामा बोल्दै वक्ताहरूले पत्रकारितामा सत्यता, संवेदनशीलता र पीडितप्रतिको सम्मानलाई केन्द्रमा राख्नुपर्नेमा विशेष जोड दिए । विपद्का घटनाहरूको रिपोर्टिङ गर्दा पीडितको गोपनीयता, सम्मान र मनोवैज्ञानिक अवस्थालाई ख्याल गर्नुपर्ने, सनसनी प्रस्तुति भन्दा तथ्यपरक र जिम्मेवार समाचार सम्प्रेषणमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका थिए । साथै संघ, प्रदेश तथा स्थानीय तहलाई अझ जिम्मेवार बनाउन पत्रकारहरूले आफ्नो कलम प्रभावकारी ढंगले चलाउनुपर्नेमा समेत जोड दिए । पिपुल इन निडका परियोजना प्रबन्धक शालिकराम घिमिरेको बिषय प्रबेशबाट शुरु भएको कार्यशालामा घिमिरेले परियोजनाको उद्देश्य, हाल सम्मका गतिविधि र अपेक्षित उपलब्धिहरूका बारेमा जानकारी गराउँदै विपद् जोखिम न्यूनीकरणमा बहु–पक्षीय सहकार्य आवश्यक रहेको बताए । त्यसैगरी पिपुल इन निडका पूर्व कार्य संयोजक सविन नेपालले मौसम पूर्वानुमान सम्बन्धी सहजीकरण गर्दै बदलिँदो जलवायु र यसको प्रभावका कारण विपद्का घटनाहरू बढ्दो क्रममा रहेको उल्लेख गरे । उनले समयमै मौसम सूचना प्राप्त गरी त्यसको प्रभावकारी उपयोग गर्न सके धेरै क्षति न्यूनीकरण गर्न सकिने बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत लक्ष्मण भण्डारीले लुम्बिनी प्रदेशमा भइरहेका विपद्का घटनाहरू, तिनको प्रकृति तथा सरकारले गरिरहेका प्रयासहरूको बारेमा जानकारी गराए । उनले प्रदेश सरकार विपद् व्यवस्थापनका लागि पूर्वतयारी, उद्धार तथा पुनस्र्थापनाका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष तथा सल्लाहकार डा. सुदिप गौतमले विपद् रिपोर्टिङका क्रममा पत्रकारहरूले ध्यान दिनुपर्ने विषयहरूबारे सहजीकरण गर्दै विपद् पत्रकारिताको महत्व र यसले पार्ने दीर्घकालीन प्रभावबारे प्रकाश पारे । उनले विपद्का बेला सञ्चारमाध्यमहरूले जनतालाई सही सूचना प्रदान गर्नुका साथै अफवाह नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । पिपुल इन निडकी पुष्पा घलेले विपद् जोखिम न्यूनीकरणका लागि उपलब्ध आर्थिक स्रोत, उद्धार सामग्रीको अवस्था तथा जोखिम क्षेत्र पहिचानका आधारबारे जानकारी दिइन् । उनले स्रोतसाधनको उचित व्यवस्थापन र समयमै परिचालन गर्न सके विपद्का असरहरू कम गर्न सकिने धारणा व्यक्त गरिन् ।
त्यस्तै पिपुल इन निडका विपद् व्यवस्थापन संयोजक प्रवेश गौतमले विपद् व्यवस्थापनका विभिन्न आयामहरूबारे सहजीकरण गर्दै समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न सञ्चारकर्मीहरूको सक्रियता अपरिहार्य रहेको बताए । कार्यक्रम नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा महासंघका केन्द्रीय सदस्य लिला शाहको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र, लुम्बिनी प्रदेशका प्रकाश डाँगीले गरेका थिए । कार्यशालामा दाङ जिल्लामा क्रियाशील विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरूकोसहभागिता रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमहरूले आफूहरूलाई विपद् सम्बन्धी विषयमा थप ज्ञान र सीप प्रदान गरेको बताउँदै आगामी दिनमा जिम्मेवार र संवेदनशील पत्रकारिता मार्फत समुदायमा सकारात्मक प्रभाव पार्ने प्रतिबद्धता जनाएका छन् ।
