गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस
काठमाण्डौ १ चैत । सरकारले रिक्त एक राष्ट्रिय सभा सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले अर्याललाई राष्ट्रिय सभाको रिक्त सिटमा मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री अर्यालले जानकारी दिए ।
राष्ट्रिय सभामा हरेक दुई वर्षमा एक तिहाइ सदस्यको पद रिक्त हुन्छ । यसरी रिक्त हुने पदमध्ये तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने गरेका छन् । यसअघि वामदेव गौतम राष्ट्रिय सभामा मनोनित भएकोमा उनको कार्यकाल गएको फागुन २० गते सकिएको छ । मन्त्रिपरिषदबाट सिफारिस भएका अर्याल राष्ट्रपतिबाट मनोनीत भएमा उनी आउँदो ६ वर्ष सांसद हुने छन् । राष्ट्रिय सभाका सांसद मन्त्री हुन पाउँछन् तर प्रधानमन्त्री हुने व्यवस्था छैन ।
प्रतिक्रिया दिनुहोस्
