राप्तीमा सिलाई व्यवसायीहरूको स्तरवृद्वि गरिदै : मसुरीया र सिसहनियाँमा तालिम चल्ने



राप्तीमा सिलाई व्यवसायीहरूको स्तरवृद्वि गरिदै : मसुरीया र सिसहनियाँमा तालिम चल्ने

भालुवाङ १ चैत । दाङको राप्ती गाउँपालिकाले स्थानीय स्तरमा सञ्चालन भइरहेका साना व्यवसायलाई थप सुदृढ बनाउने तथा महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित एक महिने कटाई–सिलाई सम्बन्धी स्तरवृद्धि सीप विकास तालिम सुरु गरेको छ।

गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा सञ्चालन गरिएको उक्त तालिमको आइतबार गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले औपचारिक उद्घाटन गर्नुभएको हो। स्थानीय स्तरमा सिलाई व्यवसाय गर्दै आएका महिलाहरूको सीपलाई थप परिष्कृत गर्दै उनीहरूलाई आधुनिक प्रविधि र नयाँ डिजाइनबारे जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वरोजगारको सम्भावनालाई विस्तार गर्ने र साना व्यवसायलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले सीपमूलक तालिमहरू स्थानीय आर्थिक विकासका महत्वपूर्ण आधार भएको बताए। उनले गाउँपालिकाले “सीपमार्फत व्यवसाय र व्यवसायमार्फत आर्थिक समृद्धि” हासिल गर्ने दीर्घकालीन लक्ष्यसहित विभिन्न सीप विकास कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे।

अध्यक्ष विष्टले स्थानीय स्तरमा रहेका सिलाई व्यवसायीहरूको सीपलाई थप निखार ल्याउँदै उनीहरूको व्यवसायलाई आधुनिक र प्रतिस्पर्धी बनाउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको बताए । उनका अनुसार ग्रामीण क्षेत्रमा साना व्यवसाय सञ्चालन गर्ने महिलाहरूलाई नयाँ सीप र प्रविधिको जानकारी गराउन सके उनीहरूको आयआर्जन बढाउन महत्वपूर्ण सहयोग पुग्ने छ। “सीपमूलक तालिमले व्यक्तिको आर्थिक अवस्था सुधार गर्न मात्र होइन, समाजमा आत्मनिर्भरता र उद्यमशीलताको विकास गर्न पनि महत्वपूर्ण भूमिका खेल्छ,” अध्यक्ष विष्टले भने । उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर आफ्नो व्यवसायलाई व्यवस्थित, प्रभावकारी र दिगो बनाउन सहभागीहरूलाई आग्रह गरे।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले पनि सीपमूलक तालिमको महत्वबारे चर्चा गरिन्। उनले यस्ता तालिमहरूले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न तथा साना व्यवसायलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताइन् । उपाध्यक्ष चौधरीका अनुसार गाउँपालिकाले आर्थिक विकास र उद्यमशीलता प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। “स्थानीय स्तरमा उपलब्ध सीप र स्रोतलाई उपयोग गरेर आत्मनिर्भर बन्ने वातावरण सिर्जना गर्नु नै हाम्रो लक्ष्य हो,” उनले भनिन् । साथै, तालिमलाई गम्भीरतापूर्वक लिएर सिकेका सीपलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई सुझाव दिइन्।

उद्यम विकास शाखा प्रमुख बिनिता चौधरीका अनुसार उक्त तालिम विशेष गरी यसअघि आधारभूत कटाई–सिलाई तालिम लिई व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूलाई लक्षित गरेर सञ्चालन गरिएको हो। उनले आधारभूत सीप हासिल गरिसकेका व्यवसायीहरूलाई थप उन्नत सीप सिकाएर उनीहरूको व्यवसायलाई विस्तार र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । चौधरीका अनुसार तालिममा विभिन्न प्रकारका नयाँ डिजाइन, आधुनिक कटाई–सिलाई प्रविधि, कपडाको गुणस्तर पहिचान, बजारको मागअनुसार पोशाक तयार गर्ने तरिका, तथा व्यवसाय व्यवस्थापन सम्बन्धी आधारभूत ज्ञान समेत प्रदान गरिने छ। यसले सहभागीहरूलाई केवल सिलाई सीपमा मात्र होइन, व्यवसाय सञ्चालन र विस्तारका लागि आवश्यक ज्ञान पनि प्रदान गर्ने अपेक्षा गरिएको छ।

तालिममा राप्ती गाउँपालिकाका विभिन्न वडाबाट ३८ जना महिला सिलाई व्यवसायीहरूको सहभागिता रहेको छ। गाउँपालिकाले महिला उद्यमशीलतालाई विशेष प्राथमिकतामा राख्दै महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरेको जनाएको छ। तालिम वडा नम्बर ३ मसुरिया र वडा नम्बर ५ सिसहनियाँमा गरी दुई स्थानमा सञ्चालन गरिनेछ। यसले विभिन्न वडाका सहभागीहरूलाई सहज रूपमा तालिम लिन सक्ने वातावरण सिर्जना गरेको गाउँपालिकाले जनाएको छ। एक महिनासम्म सञ्चालन हुने उक्त तालिममा सहभागीहरूले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्यास पनि गर्ने व्यवस्था मिलाइएको छ। स्थानीय स्तरमा सञ्चालन हुने यस्ता सीपमूलक तालिमहरूले ग्रामीण महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउने तथा घरेलु उद्योग र साना व्यवसायलाई विस्तार गर्ने सम्भावना बढाउने विश्वास गरिएको छ। गाउँपालिकाका अनुसार तालिम सम्पन्न भएपछि सहभागीहरूले सिकेका सीपलाई प्रयोग गरेर आफ्नो व्यवसायलाई अझ व्यवस्थित रूपमा सञ्चालन गर्न सक्नेछन्। स्थानीय महिलाहरूलाई सीपमूलक तालिम प्रदान गरेर स्वरोजगारको अवसर सिर्जना गर्नुका साथै उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्न पनि यस्ता कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।

पछिल्लो समय सिलाई व्यवसायप्रति महिलाहरूको आकर्षण बढ्दै गएको अवस्थामा यस प्रकारका तालिमहरूले उनीहरूलाई बजारको मागअनुसार काम गर्न थप सक्षम बनाउने विश्वास गरिएको छ। गाउँपालिकाले आगामी दिनमा पनि विभिन्न सीपमूलक तथा उद्यमशीलता विकास कार्यक्रमहरू सञ्चालन गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने योजना अघि बढाएको जनाएको छ। यसले विशेषगरी युवाहरू र महिलाहरूलाई आफ्नो गाउँमै बसेर आयआर्जन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। तालिम उद्घाटन कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण राउत, कार्यपालिका सदस्य रणबहादुर पुजाली, प्रशासन शाखा प्रमुख विकास ज्ञवाली, योजना शाखा प्रमुख अनिल आचार्य लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले तालिमले स्थानीय सिलाई व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्दै आर्थिक गतिविधि विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे