देवीकोट दर्शन दौड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा : ३ सय १० जना खेलाडीले भाग लिदै
भालुवाङ २८ फागुन । दाङको राप्ती गाउँपालिकाले गाउँपालिका स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेको राष्ट्रव्यापी खुला ‘क्रसकन्ट्री देवीकोट दर्शन दौड’ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
प्रतियोगितामा पुरुषतर्फ २ सय ३३ र महिलातर्फ ७७ गरी कुल ३ सय १० जना खेलाडीहरुले भाग लिएको गाउँपालिकाका सुचना प्रविधि शाखा प्रमुख बालचन्द्र गुरुङले जानकारी दिएका छन् । प्रतियोगितामा छिमेकी जिल्ला सहित पूर्वको खोटाङ देखि पश्चिमको कैलाली, बाजुरा र जुम्ला सम्मका खेलाडीहरूले समेत भाग लिएका छन् । प्रतियोगिता फागुन २९ गते बिहान ७ बजे राप्ती गाउँपालिका–४ श्रीनारायणचोक मौरीघाटबाट सुरु हुने गाउँपालिकाले जनाएको छ । राप्ती गाउँपालिकाले ऐतिहासिक तथा पौराणिक महत्व बोकेको राप्ती गाउँपालिका–९ स्थित भद्राक्षीदेवी मन्दिर (देवीकोट) क्षेत्रको राष्ट्रव्यापी प्रचारप्रसार तथा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् । धार्मिक मान्यता अनुसार उक्त स्थानलाई सतिदेवीको देब्रे घुँडा पतन भएको पवित्र स्थलका रूपमा समेत मानिने गरिएको छ । प्रतियोगिताको दौड मार्ग राप्ती गाउँपालिका–४ स्थित श्रीनारायण चोक देखि सुरु भई देवीकोट स्थित भद्राक्षीदेवी मन्दिर सम्म करिब ८ किलोमिटरको रहने छ ।
प्रतियोगितामा महिला तथा पुरुष दुवै समूहका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमश ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यता तथा प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको विशिष्ट आतिथ्यता रहने छ । साथै प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय जनप्रतिनिधि, खेलाडी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको समेत सहभागिता रहने बताइएको छ । प्रतियोगिता व्यवस्थित रूपमा सम्पन्न गर्न गाउँपालिकाले आवश्यक पत्राचार, मञ्च निर्माण, अतिथि सत्कार, स्वास्थ्य स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था तथा अन्य व्यवस्थापनका सम्पूर्ण तयारी पूरा गरिएको जनाएको छ । गाउँपालिकाले प्रतियोगिता मार्फत देवीकोट क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्व थप उजागर हुने विश्वास व्यक्त गर्दै खेलाडी, युवावर्ग तथा सरोकारवाला सबैमा उत्साहपूर्ण सहभागिताका लागि आह्वान गरेको छ ।
