बाल जनता माविबाट स्वाइच्छा अवकास लिएका जिसीले गरे डेढ लाखको अक्षयकोष स्थापना
देउखुरी २७ फागुन । लमही नगरपालिका–३ बनागाउँ स्थित बालजनता माध्यमिक विद्यालयबाट स्वाइच्छा अवकास लिएका शिक्षक डम्बरबहादुर जिसीले १ लाख ५० हजार बराबरको अक्षयकोष स्थापना गरेका छन् ।
शिक्षक जिसीले स्वर्गीय बुवा प्रेमबहादुर जिसी र आमा खिमादेवी जिसीको संझनामा सोही विद्यालयमा अध्ययनरत कक्षा ८, १० र १२ मा प्रथम हुने विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले प्रेम–खिमा अक्षयकोष स्थापना गरेका हुन् । मंगलबार विद्यालयले एक समारोहको आयोजना गरि अनिवार्य अवकाश लिएका विद्यालयका प्रधानाध्यापक कृष्ण केसी र स्वाइच्छा अवकास लिएका शिक्षक जिसीको बिदाई कार्यक्रममा शिक्षक जिसीले सो अक्षयकोष स्थापना गरेका हुन् । शिक्षक जिसी २७ वर्षको उमेरमा वि.सं. २०५१ साल फागुन १० गते देखि सोही विद्यालयमै ३१ वर्ष बिताए ।
सो अक्षयकोषको रकम विद्यालयका निमित्त प्रधानाध्यापक रुमलप्रसाद बसेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम प्रसाद चौधरीलाई सो रकमको चेक हस्तान्तरण गरेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाट निवासी शिक्षक जिसी ३१ वर्ष उच्च मावि तहमा कार्यरत रहेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम प्रसाद चौधरीको अध्यक्षता एवम् लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो ।
