रास्वपा वरिष्ठ नेता बालेन शाहको चुनाव खर्च सार्वजनिक
काठमाण्डौ २५ फागुन । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी बालेन्द्र शाहले आफ्नो चुनाव खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधि मार्फत जिल्ला निर्वाचन कार्यालयमा पेश गरिएको विवरणअनुसार शाहले चुनाव अभियानका क्रममा कूल १४ लाख १४ हजार ७ सय २९ रुपैयाँ खर्च भएको उल्लेख छ ।
पेश गरिएको विवरणमा विभिन्न शीर्षकमा खर्च गरिएको रकम समेटिएको छ । उनले चुनाव प्रचार प्रशारका क्रममा गाडी भाडामा १५ दिनका लागि दुई वटा गाडी प्रयोग गर्दा २ लाख ३३ हजार ५ सय, हवाई भाडामा पाँच पटकका लागि ३५ हजार तथा मतदाता प्रशिक्षण कार्यक्रमको खाना खर्च शीर्षकमा २६ हजार ९ सय ७० रुपैयाँ खर्च भएको उल्लेख छ । वडा स्तरीय प्रचार कार्यक्रम तथा घरदैलो अभियान सञ्चालन गर्न ४ लाख ५० हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख गरिएको छ । नमूना मतपत्र छपाइका लागि ४४ हजार ५ सय ५० रुपैयाँ खर्च गरिएको उल्लेख छ । चुनाव अभियानका क्रममा कार्यालय सञ्चालनका लागि पानी खर्च शीर्षकमा दुई महिनामा ९० हजार र स्टेशनरी खर्च शीर्षकमा २९ हजार ६ सय ७० रुपैयाँ खर्च भएको जनाइएको छ ।
त्यसैगरी प्रचार सामग्री छपाइ (कपडा तथा ब्यानर) मा १ लाख ७५ हजार ३४, प्रचार सामग्री ढुवानी तथा टिकटमा १ लाख १९ हजार ५ सय ५ रुपैयाँ खर्च भएको उल्लेख छ । उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ । खर्च विवरण शाहका प्रतिनिधि नवीन भण्डारीले हस्ताक्षर गरी आज जिल्ला निर्वाचन कार्यालयमा पेश गरेका हुन् ।
