बालेन शाह झन्डै ५० हजार मतान्तरले ओली पराजित
काठमाडौँ २३ फागुन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ मा विशाल मतान्तरले पराजित भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र (बालेन) शाहसँग ओली पराजित भएका हुन् । बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी ओली १८ हजार ७३४ मतमा सीमित भए । बालेनले ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरेका हुन् ।श्रम संस्कृति पार्टीका समिर तामाङ तेस्रो स्थानमा रहे भने नेपाली कांग्रेसकी मंधरा चिमरिया चौथो स्थानमा रहिन् ।समिरले ९ हजार २३३ मत प्राप्त गर्दा मंधराले १ हजार ८२१ मत गरिन् ।
झापा–५ बाट ओली पटक–पटक निर्वाचित हुँदै आएका थिए भने बालेन पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् । बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचन प्रचारप्रसार गरेको थियो । यसअघि काठमाडौँ महानगरपालिकाको मेयर रहेका बालेन प्रतिनिधि सभा निर्वाचन घोषणा भएपछि राजीनामा दिएर संसदीय यात्राको तयारीमा जुटेका थिए ।
