जनता मावि करङ्गेकोटमा शाैचालय र खानेपानीको समस्या : स्थानीय सरकार बेखवर



जनता मावि करङ्गेकोटमा शाैचालय र खानेपानीको समस्या : स्थानीय सरकार बेखवर

भालुवाङ २९ साउन । दाङको विकट क्षेत्र राप्ती गाउँपालिका–५ करङ्गेकोटमा रहेको जनता माध्यमिक विद्यालयमा शौचालय र खानेपानीको समस्या देखिएको छ ।

विद्यालयमा पर्याप्त शौचालय नहुँदा विद्यार्थी तथा शिक्षकलाई शौच गर्न समेत लाइनमा बस्नुपर्ने अवस्था रहेको छ भने वर्षायाम सुरु भएसँगै खानेपानीको समस्या झन् बढेको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयमा रहेका तीनवटा शौचालयमध्ये एउटा जीर्ण भएर प्रयोगविहीन अवस्थामा छ । बाँकी दुईवटा शौचालय मात्रै सञ्चालनमा छन् । विद्यार्थी र शिक्षकको संख्या अनुसार पर्याप्त शौचालय नहुँदा शौच गर्न पालो कुर्नुपर्ने बाध्यता रहेको विद्यालयकी प्रधानाध्यापक सरस्वती आचार्यले बताएकी छिन् । “एउटा शौचालय बिग्रिएको छ । दुईवटा शौचालयले विद्यार्थी र शिक्षकलाई पुग्दैन । दिसापिसाब गर्न पनि लाइनमा बस्नुपर्ने अवस्था छ,” प्रधानाध्यापक आचार्यले भनिन् ।

त्यस्तै विद्यालयमा खानेपानीको समेत समस्या रहेको उनले बताइन् । विद्यालयमा सोलार सिस्टममार्फत धारा सञ्चालनमा रहेको भए पनि वर्षायाममा घाम नलाग्दा सोलारले काम नगर्ने र धारामा पानी नआउने समस्या रहेको छ । धारामा पानी नआएपछि विद्यालयका शिक्षक तथा कर्मचारीले करिब २०–२५ मिनेट हिँडेर मुहानबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक आचार्यले बताइन् । पर्याप्त खानेपानी उपलब्ध नहुँदा शौचालय समेत फोहोर हुन थालेको उनको भनाइ छ । विद्यालय प्रशासनका अनुसार समस्या समाधानका लागि राप्ती गाउँपालिकालाई जानकारी गराए पनि हालसम्म अपेक्षित ध्यान पुग्न सकेको छैन ।

यता यस विषयमा गाउँपालिकाको शिक्षा शाखासँग बुझ्दा तत्काल स्थलगत अवलोकन गरी अस्थायी रूपमा शौचालय निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी रहेको जनाएको छ । आगामी हिउँदे अधिवेशनबाट बजेटको व्यवस्था गरी स्थायी शौचालय निर्माण गर्ने तथा खानेपानीको समस्या समाधानका लागि सम्बन्धित शाखासँग समन्वय गर्ने शिक्षा शाखाले जनाएको छ । विकट क्षेत्रका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा आधारभूत सुविधाकै रूपमा रहेको शौचालय र खानेपानीको समस्या लामो समयसम्म रहँदा विद्यार्थीको स्वास्थ्य, सरसफाइ तथा पठनपाठनमा समेत प्रत्यक्ष असर पर्न सक्ने विद्यालय प्रशासनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे