कुष्ठ रोग निवारणका लागि अझै जनचेतनाको आवश्यकता छ : स्वास्थ्य सचिव श्रेष्ठ
भालुवाङ १६ फागुन । नेपाल कानुन समाज ले नेपालमा कुष्ठरोग प्रभावित व्यक्तिहरूको अधिकार तथा भावी रणनीति सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
दाङको भालुवाङमा शनिबार आयोजित कार्यक्रममा उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । समाजका केन्द्रीय सदस्य पदम वैद्धिकको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव श्रेष्ठले कुष्ठरोग निवारणका लागि अझै व्यापक जनचेतनाको आवश्यकता रहेको बताइन् । उनले नेपालले निवारणको घोषणा गरे पनि संक्रमण पूर्णरूपमा अन्त्य नभएको उल्लेख गर्दै समुदायस्तरमा सचेतना, प्रारम्भिक पहिचान र उपचारलाई सुदृढ गर्नुपर्नेमा जोड दिइन् ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले तीनै तहका सरकारले कुष्ठरोग प्रभावितहरूको सवाललाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए । उनले कार्यक्रमहरू कागजमा सीमित नभई समुदाय केन्द्रित हुनुपर्ने बताए । प्रभावित व्यक्ति र परिवारको सामाजिक पुनस्र्थापना, रोजगारी र सम्मानजनक जीवन सुनिश्चित गर्न समन्वित पहल आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा नागरिक समाज दाङका संयोजक निमबहादुर थापा, नेपाल पत्रकार महासंघ का केन्द्रीय सदस्य लिला शाह लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । वक्ताहरूले कानुनी सुधार र नीतिगत स्पष्टता बिना प्रभावितहरूको अधिकार सुनिश्चित हुन नसक्ने धारणा राखेका थिए । नेपाल कानुन समाजले विगत तीन वर्षदेखि कुष्ठरोग प्रभावित व्यक्ति तथा परिवारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । समाजले प्रभावितहरूको संवैधानिक, मौलिक तथा कानुनी हकको संरक्षण र संवद्र्धनका लागि विद्यमान कानुनको समीक्षा गर्दै आवश्यक संशोधनको मस्यौदा तयार गरेको जनाएको छ । राष्ट्रिय नीति निर्माणका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सरोकारवालासँग संवाद र छलफल गरी अन्तिम मस्यौदालाई टुंगो लगाउने तयारी गरिएको समाजले स्पष्ट पारेको छ ।
कार्यक्रममा स्वास्थ्य सेवा विभाग, टेकु अन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा. रविन्द्र बास्कोटाले नेपालमा कुष्ठरोग प्रभावित व्यक्तिहरूको अवस्था र चुनौतीबारे प्रकाश पारे । त्यस्तै मधेस प्रदेशका पूर्व महान्याधिवक्ता सुरेन्द्रकुमार महतोले प्रतिवेदनका मुख्य निष्कर्ष र भावी रणनीतिबारे जानकारी दिए । त्यस्तै आईडिया नेपालका कार्यकारी निर्देशक अमरबहादुर तिमिल्सिनाले कुष्ठरोग प्रभावितहरुको हक अधिकार र पुर्नस्थापनाको क्षेत्रमा हुनुपर्ने कामबारे धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण लालगढ कुष्ठरोग अस्पताल धनुषाका कार्यक्रम व्यवस्थापक रमेशकुमार चौधरीले गरेका थिए ।
