ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाको १७ औँ वार्षिकोत्सव सम्पन्न



ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाको १७ औँ वार्षिकोत्सव सम्पन्न

भालुवाङ ६ फागुन ।  दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-२, लालमटिया स्थित ऐरावती आदर्श बहुमुखी क्याम्पसको १७ औँ वार्षिकोत्सव कार्यक्रम बुधबार क्याम्पस परिसर लालमटियामा सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशवराज खनालकाे अध्यक्षता क्याम्पसका संस्थापक सदस्य तथा संविधानसभा सदस्य रश्मीराज नेपालीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

साे अवसरमा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालीले नेपाल र नेपालको इतिहास,भूगोल, संस्कार र संस्कृति बारे विद्यार्थीहरूले गहिरो अध्ययन र चिन्तन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले पछिल्लो समय विद्यार्थीहरूमा अनुशासन र राष्ट्रप्रेमको भावना कमजोर बन्दै गएको बताउँदै शैक्षिक उत्कृष्टता सँगै चरित्र निर्माणमा जोड दिन आग्रह गरे ।

सञ्चालक समिति उपाध्यक्ष विलोचन चौधरीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रममा पूर्व अध्यक्ष सूर्यप्रकाश शर्मा, सल्लाहकार द्रोण भुसाल, चैतन्य पाठशालाकी प्रिन्सिपल सुषमा रेग्मी, सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोदकुमार गुप्ता, भालुबाङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरुङ, महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किरण भण्डारी र राष्ट्रिय जनमोर्चाका कार्यबाहक अध्यक्ष बाबुराम थापा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नयाँ क्याम्पस सभा सदस्यहरू घनश्याम ज्ञवाली, भागवत ज्ञवाली, शारदा देवकोटा, अशोक खनाल, गोपाल पोख्रेल, मोहनकुमार श्रेष्ठ, विभीषण अधिकारी, जानका खनाल, बोधीराज घिमिरेलाई प्रमाण-पत्र वितरण गरिएको थियो । क्याम्पसमा स्थापना गरिएको तामपितम अक्षयकोष,”जगतप्रसाद पौडेल स्मृति कोष, रविलाल बोधकुमारी न्यौपाने अक्षयकोष र धनबहादुर कुमारीदेवी भट्टराई अक्षयकोषबाट विपन्न, दलित, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

सहायक प्राध्यापक धनबहादुर रावललाई उत्कृष्ट प्राध्यापकको रुपमा सम्मान गरिएको थियो । उक्त कार्यक्रममा सप्ताहव्यापी अन्तरक्याम्पस स्तरीय खेलकुद प्रतियोगिताका बिजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले लोकनृत्य, गजल, कविता प्रस्तुत गरेका थिए । क्याम्पस प्रमुख विक्रान्त ज्ञवालीले क्याम्पसको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख तुलसीराम पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे