रङ्गिन स्टल र स्वादिलो रैथाने परिकार : पब्लिक एजुकेसन एकेडेमीको खाना महोत्सव
भालुवाङ १ फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिका-२ लालमटियामा रहेको पब्लिक एजुकेसन एकेडेमीको त्यो शुक्रबार बिहान अरू दिनभन्दा केही फरक थियो।
विद्यालय देखि केही दुरीमा रहेको लालमटिया टुडिखेल मैदानमा घामको सुनौलो किरण झुल्किँदै गर्दा विद्यार्थीहरूको अनुहारमा उत्साहको उज्यालो झन् चम्किरहेको थियो। कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरू हातमा सामग्री, मनमा योजना र आँखामा सपना बोकेर विद्यालय पुगेका थिए। आज उनीहरूका लागि साधारण पढाइको दिन थिएन—यो दिन उनीहरूले आफ्नो सिर्जनशीलता र सहकार्यको शक्ति देखाउने दिन थियो।
विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको खाना महोत्सवले वातावरण रमाइलो बनाएको थियो। विहानै देखि विद्यार्थीहरूले नेतृत्व सम्हाल्दै स्टल निर्माणको जिम्मेवारी लिएका थिए। स्टलमा ब्यानर राख्ने र गुब्बाराले सजिएका स्टलहरू बिहानैदेखि तयार पारिँदै थिए। कसैले डोरी बाँधिरहेको थियो, कसैले मूल्यसूची टाँसिरहेको थियो भने कसैले भाँडा मिलाइरहेको थियो।
विद्यार्थीहरूलाई रातो, हरियो, पहेलो, सेतो र निलो गरी ५ समूहमा विभाजन गरिएको थियो। प्रत्येक समूहको आफ्नै उत्साह, आफ्नै योजना र आफ्नै रणनीति थियो। ती सवै समूहहरूले स्वास्थ्यप्रद खानाको सन्देश झल्किने गरी सजावट गरेको थियो। एकैछिनमा विभिन्न परिकारको मीठो सुगन्ध फैलिन थाल्यो। कोदोको सेल तात्तातो तेलबाट निकालिँदै थियो। थारू समुदायको मौलिक परिकार ढिक्री र खरिया सफा थालमा सजाइँदै थिए। गाजरको हलुवाको रातो रङ्गले सबैको ध्यान तानिरहेको थियो भने नयाँ च्याउको पकोडा र फापरको पकोडाको करकरे आवाजले विद्यार्थीहरूलाई झन् आकर्षित गरिरहेको थियो। आलु चिप्सको स्वादिलो गन्धले त साना कक्षाका विद्यार्थीहरूलाई स्टलतिर तानिरहेको थियो।
अभिभावकहरू पनि उत्साहका साथ टुडिखेल मैदानमा पुगेका थिए। आफ्ना छोराछोरीले तयार पारेका परिकार चाख्दै उनीहरू गर्वले मुस्कुराइरहेका थिए। “हाम्रो संस्कृतिको स्वाद फेरि जिउँदो देख्न पाइयो,” एक अभिभावकले भने। ढिक्री र खरिया जस्ता परिकारले स्थानीय पहिचानलाई उजागर गरिरहेको थियो। कोदो र फापर जस्ता अन्नबाट बनेका परिकारले स्वास्थ्यप्रद खानाको सन्देश दिइरहेका थिए।
समूहहरूबीच स्वस्थ प्रतिस्पर्धा पनि चलिरहेको थियो। सबैले आफ्नो स्टल उत्कृष्ट बनाउन सक्दो प्रयास गरेका थिए। स्वाद, प्रस्तुति, सरसफाइ र ग्राहक सेवा—सबै पक्षमा ध्यान दिइएको थियो। शिक्षकहरू पनि विद्यार्थीहरूको सक्रियता देखेर खुसी देखिन्थे। “कक्षाकोठाभन्दा बाहिरको सिकाइ प्रभावकारी हुन्छ प्रधानाध्यापक चम्पकराज कार्कीले भने, “आज यी बालबालिकाले सीप, बिजनेस गर्ने तरिका, सहकार्य, जिम्मेवारी र आत्मविश्वास सिकेका छन्।” विद्यार्थीहरूमा व्यवहारिक शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको हो। कक्षामा सिकाइने पाठ्यक्रमबाहेक जीवनोपयोगी सीप, आर्थिक सचेतना, समूहगत सहकार्य र आत्मविश्वास अभिवृद्धि गर्न यस्ता गतिविधि प्रभावकारी प्रधानाध्यापक कार्कीले विश्वास व्यक्त गरे । विद्यार्थीहरूको सक्रियता र सिर्जनशीलताको उनले प्रशंसा गरे। उनले व्यवहारिक ज्ञान नै जीवनका लागि उपयोगी हुने उल्लेख गर्दै विद्यालयले पढाइसँगै सीपमूलक गतिविधिलाई प्राथमिकता दिइरहेको बताए। उनले स्थानीय उत्पादन र परिकारको संरक्षण तथा प्रवर्द्धनमा नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुने धारणा राखे।
विद्यार्थीहरूले पनि कार्यक्रमबाट धेरै कुरा सिक्न पाएको अनुभव सुनाए। समूहमा काम गर्दा सहकार्य, धैर्यता र समन्वयको महत्व बुझ्न सकिएको उनीहरूको भनाइ थियो। कसरी योजना बनाउने, लागत निर्धारण गर्ने, मूल्य तोक्ने र ग्राहकसँग व्यवहार गर्ने भन्ने व्यावहारिक ज्ञान प्राप्त भएको उनीहरूले बताए। केही विद्यार्थीहरूले भविष्यमा व्यवसाय सञ्चालन गर्न यस्ता अनुभव उपयोगी हुने धारणा व्यक्त गरे।
महोत्सवमा शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावक सबैले उत्साहपूर्वक सहभागिता जनाएका थिए। स्थानीय परिकारको स्वाद र विद्यार्थीहरूको प्रस्तुतिले कार्यक्रमलाई सफल बनाएको देखिन्थ्यो। यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा आत्मनिर्भरता र आत्मविश्वास बढाउनुका साथै सामाजिक घुलमिल र सांस्कृतिक चेतना विस्तार गर्ने विश्वास विद्यालय प्रशासनको छ। स्थानीय अन्नबालीको प्रयोगमार्फत स्वास्थ्यप्रद खानपानको सन्देश प्रवाह गर्नु पनि कार्यक्रमको सकारात्मक पक्ष मानिएको छ।
