विकासको मोडेल परिवर्तन गर्न शिक्षा, सीप, उद्यम र रोजगारीलाई एकआपसमा जोड्न जरूरी छ : मन्त्री न्पाैपाने



विकासको मोडेल परिवर्तन गर्न शिक्षा, सीप, उद्यम र रोजगारीलाई एकआपसमा जोड्न जरूरी छ : मन्त्री न्पाैपाने

दाङ १ फागुन । स्थानीय अर्थतन्त्रको विकास र सवलीकरणका लागि बहुपक्षीय सहकार्य निर्माण गर्ने विषयमा लुम्बिनी प्रदेशमा सरोकारवाला बीच छलफल गरिएको छ।

लुम्बिनी प्रदेश सभा अन्तर्गतको अर्थ, उद्योग तथा पर्यटन समितिको आयोजना तथा लुम्बिनी प्राविधिक विश्वविद्यालय र सेवा प्रतिष्ठान नेपालको संयुक्त सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले प्रदेशको विकास मोडेल परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै शिक्षा, सीप, उद्यम र रोजगारीलाई एकआपसमा अनिवार्य रूपमा जोड्नुपर्ने बताए । नीति निर्माण कागजी प्रक्रियामा सीमित नभई व्यवहारिक र कार्यान्वयनमुखी हुनुपर्नेमा उनले जोड दिए। “नीति सजिलो हुनुपर्छ। उद्यमसँग जोडिएको नीतिबिना रोजगारी सिर्जना सम्भव छैन,” मन्त्री न्यौपानेले भने, “युवालाई उद्यमशीलतामा जोड्ने स्पष्ट योजना र कार्यक्रम नबनेसम्म प्रदेशको आर्थिक रूपान्तरण सम्भव हुँदैन। यसका लागि प्रदेश सरकारले नीतिगत सुधार अघि बढाएको छ।”

प्रदेश युवा तथा खेलकूद मन्त्री सन्तोषकुमार पाण्डेले खेलकूदको माध्यमबाट प्रदेशलाई समृद्ध बनाउन सकिने आधार रहेको उल्लेख गर्दै युवालाई अनुशासित र जिम्मेवार बनाउन सरकारले प्राथमिकता दिएको बताए । “युवालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छ। युवा तथा खेलकूद मन्त्रालय स्थापना नै त्यसको प्रमाण हो,” उनले भने।

प्रदेश योजना आयोगका सचिव खिमबहादुर कवरले प्रदेशको अर्थतन्त्र र मानव स्वास्थ्यबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै आर्थिक गतिविधि विस्तारले जीवनस्तर सुधार हुने बताए । उद्यम दर्ता प्रक्रियालाई एकद्वार प्रणालीमार्फत् सरल बनाउनुपर्नेमा जोड दिँदै उनले सरकार, युवा र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याए । “युवाका लागि छुट्टै उद्यम विकास कोष र स्पष्ट युवा उद्यमशीलता योजना ल्याउनुपर्छ,” उनको भनाइ थियो।

नीति तथा सुशासन विज्ञ डा. नहकुल केसीले स्थानीय अर्थतन्त्र सुदृढीकरणका लागि बहुपक्षीय ‘कोलियसन’ मोडेल प्रभावकारी हुने बताए । स्थानीय तथा प्रदेश सरकार, विश्वविद्यालय, निजी क्षेत्र, सहकारी, नागरिक समाज संस्था तथा कृषक–उत्पादक समूहबीच सहकार्य हुँदा नीति निर्माणदेखि कार्यान्वयनसम्मको दूरी घट्ने उनले स्पष्ट पारे। “नीति, अनुसन्धान र कार्यान्वयनबीच संरचनात्मक समन्वयबिना दिगो आर्थिक विकास सम्भव हुँदैन,” उनले भने।

कार्यक्रममा पर्यटन, उत्पादन तथा नवप्रवर्तन, कृषि तथा पशुपालन, निर्माण व्यवसाय र सूचना प्रविधि क्षेत्रका प्रतिनिधिहरूले अनुभव प्रस्तुत गरेका थिए। सहभागी युवा व्यवसायीहरूले नीतिगत अस्पष्टता, अनुमति प्रक्रियाको झन्झट, सीपयुक्त जनशक्तिको अभाव तथा लगानीमैत्री वातावरणको कमीलाई प्रमुख चुनौतीका रूपमा औंल्याए। उनीहरूले स्थानीय तहमा उद्योग सञ्चालनका लागि एकद्वार सहजीकरण प्रणाली, सीपमूलक तालिम र युवालाई लक्षित सहुलियत ऋण कार्यक्रम आवश्यक रहेको धारणा राखे।
कार्यक्रमले लुम्बिनी प्रदेश तथा स्थानीय तहको आर्थिक विकासमा युवाको सक्रिय सहभागिता बढाउने, बहुपक्षीय सहकार्यको स्थायी संयन्त्र विकास गर्ने र नीति निर्माणलाई व्यवहारसँग जोड्ने दिशामा साझा प्रतिबद्धता व्यक्त गरेको छ।

यस अवसरमा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसी, लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुलसचिव रेगबहादुर भण्डारी तथा युवा अर्थशास्त्री निशान्त खनाललगायतले नीतिगत सुधार र सहकार्यका क्षेत्रमा भइरहेका पहलका बारेमा धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे