स्वास्थ्य मन्त्रालयको अर्धवार्षिक समिक्षा, स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउनुहाेस् : मन्त्री सारू



स्वास्थ्य मन्त्रालयको अर्धवार्षिक समिक्षा, स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउनुहाेस् : मन्त्री सारू

भालुवाङ १४ माघ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले प्रदेशको स्वास्थ्य क्षेत्रलाई समयानुकूल, प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक रहेको बताएका छन् । स्वास्थ्य सेवा केवल संरचना विस्तारमै सीमित नराखी सेवाको गुणस्तर, पहुँच र प्रभावकारितामा विशेष ध्यान दिनुपर्ने उनको जोड छ ।

बुधबार दाङको भालुवाङमा आयोजित स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०८२र०८३ को अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री सारूले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि अझै धेरै सुधारका क्षेत्रहरू बाँकी रहेको बताए । “लुम्बिनी प्रदेशले स्वास्थ्य क्षेत्रमा हालसम्म ४१‍.७ प्रतिशत प्रगति हासिल गरेको छ,” उनले भने, “तर अबको प्राथमिकता भनेको सेवा विस्तारसँगै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु हो ।” मन्त्री सारूले स्वास्थ्य संस्थाहरूको भौतिक संरचना विस्तार मात्र पर्याप्त नभएको उल्लेख गर्दै दक्ष जनशक्ति, आधुनिक उपकरण, औषधिको उपलब्धता र सेवाग्राहीमैत्री प्रणाली विकासमा ध्यान दिन आग्रह गरे । उनले प्रदेशका सबै स्वास्थ्य प्रमुख तथा सम्बन्धित निकायलाई जिम्मेवारीबोधका साथ काम गर्न निर्देशन दिए ।

कार्यक्रममा बोल्दै उनले ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकहरू अझै पनि गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित रहेको उल्लेख गरे । “स्वास्थ्य सेवा सबै नागरिकको मौलिक अधिकार हो,” मन्त्री सारूले भने, “त्यसैले प्रदेशका दुर्गम क्षेत्रसम्म सहज, सुलभ र गुणस्तरीय सेवा पुर्‍याउनु हाम्रो मुख्य दायित्व हो ।” मन्त्री सारूले सहभागीहरूको सुझाव र गुनासोलाई गम्भीरतापूर्वक लिँदै मन्त्रालयले आगामी नीति तथा कार्यक्रममा ती विषयहरू समेट्ने प्रतिबद्धता व्यक्त गरे । “स्वास्थ्य क्षेत्रको सुधार एक्लै मन्त्रालयले मात्र गर्न सक्दैन,” उनले भने, “प्रदेश सरकार, स्थानीय तह, स्वास्थ्यकर्मी र आम नागरिक सबैको सहकार्य आवश्यक छ ।”

स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्य क्षेत्रका नीति, योजना तथा कार्यक्रमहरूको अर्धवार्षिक प्रगतिको समीक्षा गरिएको थियो । सचिव श्रेष्ठले स्वास्थ्य मन्त्रालयले तय गरेका लक्ष्यहरू प्राप्तिका लागि कर्मचारी, स्वास्थ्यकर्मी र सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताइन् । उनले सीमित स्रोत साधनका बाबजुद पनि मन्त्रालयले उल्लेखनीय काम गर्न सफल भएको दाबी गरिन् । सचिव  श्रेष्ठले समीक्षा कार्यक्रममा उठेका सुझावहरूलाई आगामी कार्ययोजनामा समेटिने बताइन् । उनले स्वास्थ्य सेवा सुधारमा सबै तहको समन्वय र निरन्तर अनुगमन अपरिहार्य रहेको उल्लेख गरिन् । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले प्रदेश सरकार स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको उल्लेख गरे । उनले स्वास्थ्य सेवा सुधारका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताउँदै नीति निर्माणदेखि कार्यान्वयनसम्म पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने धारणा राखे ।

स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले प्रदेशभरका स्वास्थ्य संस्थाहरूको वर्तमान अवस्था, जनशक्तिको स्थिति र सेवाप्रवाहको अवस्थाबारे जानकारी गराउँदै केही क्षेत्रमा प्रगति सन्तोषजनक भए पनि केही जिल्लामा अझै आधारभूत स्वास्थ्य सेवा समेत पूर्णरूपमा पुग्न नसकेको स्वीकार गरे । निर्देशक चौधरीले आगामी दिनमा सेवा गुणस्तर सुधारका लागि स्वास्थ्यकर्मी तालिम, उपकरण व्यवस्थापन र अनुगमन प्रणालीलाई थप सुदृढ बनाइने जानकारी दिए ।
कार्यक्रममा सहभागी स्वास्थ्य कार्यालय प्रमुखहरूले आ–आफ्ना जिल्लाका समस्या, चुनौती र उपलब्धिहरू प्रस्तुत गरेका थिए । उनीहरूले औषधि अभाव, जनशक्ति कमी, पूर्वाधार अपुग र बजेट व्यवस्थापनका चुनौतीहरूबारे ध्यानाकर्षण गराएका थिए । साथै उनीहरूले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र सेवाग्राहीको विश्वास बढाउन विशेष पहल आवश्यक रहेको बताए ।

अर्धवार्षिक समीक्षा कार्यक्रममा मातृ तथा शिशु स्वास्थ्य, पोषण, खोप कार्यक्रम, सरुवा रोग नियन्त्रण, गैरसरुवा रोगको व्यवस्थापन, स्वास्थ्य बीमा तथा आकस्मिक सेवाको अवस्थाबारे समेत विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार पछिल्लो समय खोप अभियान, सुरक्षित मातृत्व कार्यक्रम र आधारभूत स्वास्थ्य सेवामा सुधार देखिएको छ ।  कार्यक्रमको सञ्चालन चाँदनी शर्माले गरेकी थिइन् । कार्यक्रममा प्रदेशस्तरका स्वास्थ्य कार्यालय प्रमुखहरू, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय, पहुँचयोग्य र प्रभावकारी बनाउने लक्ष्यसहित अगाडि बढिरहेको सन्दर्भमा यस्तो समीक्षा कार्यक्रमले आगामी दिनमा नीति निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे