गीत सुन्दै आँसु पुछ्दै दर्शक, बद्री पंगेनीको प्रस्तुतीले लालमटिया महोत्सव स्तब्ध



गीत सुन्दै आँसु पुछ्दै दर्शक, बद्री पंगेनीको प्रस्तुतीले लालमटिया महोत्सव स्तब्ध

भालुवाङ ८ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका–२, लालमटिया टुडिखेलमा सञ्चालित महोत्सवमा बिहिबार गायक बद्री पंगेनीले गीत गाउँदा महोत्सव हेर्न आएका बुढाबुढीहरु भावुक मात्र भएनन् कतिपयको आँखा समेत रसायो ।

राप्ती उद्योग वाणिज्य संघ भालुवाङले आयोजना गरेको “सातौँ राप्ती लुम्बिनी प्रादेशिक व्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०८२ को चौधौँ दिन माघ ८ गते महोत्सवमा बहुचर्चित लोकदोहोरी गायक बद्री पंगेनीले गीत गाउँदै गर्दा महोत्सवस्थल पुरै स्तब्ध मात्र बनेन पुरै महोत्सवमा सहभागी कोही सुक्क सुक्क रुदै थिए भने कोही आँसु पुछ्दै थिए । गायक पंगेनी मञ्चमा प्रवेश गरे संगै “बाध्य भइयो परदेशमा छिर्न, मैले पढ्दा लाएको ऋण तिर्न, आमा बिदा पाउँदिन अहिलेको सालमा पनि घरमा आउँदिन” भन्ने बोलको गीत गाउन शुरू गरे लगत्तै पुरै महोत्सव स्थल स्तब्ध भएको थियो । गायक पङ्गेनीको गीतमा मेला हेर्न आएका अधिकांश वृद्धा आमाहरु र युवा युवतीहरु भावुक बने । पाको उमेरका दर्शक विशेष गरी महिला दर्शक भावुक भए पनि युवा पुस्ता भने उनको फोटो खिच्न र भिडियो कैद गर्न व्यस्त भए । दर्शकहरु भावुक भएको देखेर पंगेनी मञ्चबाट दर्शकदीर्घामा पुगे र आमाहरुको माझमा गएर गीत गाउन थाले ।

महोत्सवमा मनोरञ्जनका लागि आएका दर्शकहरुलाई पंगेनीको गीतले केहीबेर भावुक बनाए । गायक पङ्गेनीले गीत गाउँदै आमाहरूको आर्शिवाद लिएर विदेशीएका छोराहरुको कथाव्यथालाई गीतमा प्रस्तुत गरिरहँदा आमाहरुले त आँशु बरबरी झारिरहेका थिए । शुरूवाती मै गायक पङ्गेनीले नेपाली युवाले विदेशीभूमिमा भोगेको पिडादायिक गीत गाउँदा सिङ्गो महोत्सव नै स्तब्ध बन्न पुग्यो । त्यसपछि भने गायक पङ्गेनीले महोत्सवलाई रोदनबाट रमाईलो तर्फ बद्ले अनि उनले दर्शक माझमै गएर पानी सलल, पानी चलेन, कान्छी ओइ कान्छी, रातो पछयौरी, ससुरालीमा लगायतका मनोरञ्जनात्मक गीत समेत प्रस्तुत गरेका थिए । ती गीतमा भने युवायुवतीहरूले महोत्सवस्थल नै धुलाम्मे हुने गरी हुटिङ्ग गर्दै छमछमी नाचे ।

त्यस्तै आर्की गायिका मिना बुढाथोकीले आफ्ना चर्चित गीत मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए । भने बीच बीचमा स्थानीय कलाकार र डान्सरहरुले पनि मनोरञ्जन दिएका थिए । यसैगरी महोत्सवमा माघ ९ गते चर्चित लोक दोहोरी गायिका शान्तारानी परियार, गायक अर्जुन सापकोटा, गायक तथा उदघोषक राजेश भण्डारी, गायक सुदन थापा, मोडेल तथा डान्सर आरूषी मगर लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे