मुख्यमन्त्री कार्यालयका सचिव कवीन्द्र नेपालको बिदाइ, संस्थागत स्मृति हस्तान्तरण



मुख्यमन्त्री कार्यालयका सचिव कवीन्द्र नेपालको बिदाइ, संस्थागत स्मृति हस्तान्तरण

दाङ ९ पुस । लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका सचिव कवीन्द्र नेपालको बिदाइ गरिएको छ। करिब १० महिना कार्यरत रहेका सचिव नेपालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा सरुवा भएका हुन् ।

बिदाइ कार्यक्रममा सचिव कवीन्द्र नेपालले प्रमुख सचिव कृष्णप्रसाद काप्रीलाई संस्थागत स्मृति हस्तान्तरण गरे। उनले प्रशासनिक कामकाजमा इमानदार प्रयास गरेको उल्लेख गर्दै संस्थागत स्मृति हस्तान्तरणलाई निर्देशिकाका रूपमा विकास गरी लागू गर्नुपर्ने आवश्यकता औंल्याए। शून्यबाट आउने र शून्यबाट हराउने अवस्थाबाट मुक्त हुन संस्थागत स्मृति प्रभावकारी हुनुपर्ने उनको भनाइ थियो । सचिव नेपालले मागमा आधारित क्षमता विकास कार्यक्रम, सदाचार र शिष्टाचार, योग र अभ्यासका मूल्यलाई आन्तरिक गर्ने विषयमा जोड दिए । मन, वचन र कर्मले कसैलाई हानि नपुर्‍याउने संस्कारलाई व्यवहारमा उतार्नुपर्ने बताउँदै प्रदेशलाई प्रभावकारी बनाउन हरेक व्यक्तिको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

नीति, मापदण्ड र कार्यविधिको एकीकृत प्रतिवेदन तयार गरिएको र असल अभ्यासहरूको संकलन गरिएको जानकारी पनि उनले दिए । कार्यक्रममा प्रमुख सचिव कृष्णप्रसाद काप्रीले सचिव नेपालले कार्यसम्पादनमा पुर्‍याउनुभएको योगदानप्रति धन्यवाद व्यक्त गरे । सकारात्मक चिन्तन, अरूलाई पथप्रदर्शन गर्ने क्षमता र कर्तव्यनिष्ठ भएर जिम्मेवारी बहन गर्ने संस्कार प्रशंसनीय रहेको उनको भनाइ थियो । प्रदेशको संस्थागत विकासमा स्मृतिको हस्तान्तरण गर्नु असल अभ्यास भएको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे