राप्ती र लमहीबाट लागुऔषध सहित ३ जना पक्राउ



राप्ती र लमहीबाट लागुऔषध सहित ३ जना पक्राउ

भालुवाङ ७ पुस । दाङको राप्ती र लमहीबाट ३ जना लागुऔषध सहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजी बस्ने वर्ष ३८ को इमरान सिद्दिकी हलवाई र सोही पालिकाको वडा नम्बर ८ ज्वलाहापुर बस्ने बर्ष ३८ को नुरूद्दिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । आइतवार अन्दाजी ४ बजेको समयमा दाङको राप्ती गाउँपालिका वडा नं. ५ कालापानी स्थित पुर्व पश्चिम राजमार्गको सडक खण्डमा इलाका प्रहरी कार्यालय भालुवाङ दाङबाट खटिएको प्रहरी चेकिङ टोलीले चेकजाँचको क्रममा उनीहरुलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

उनीहरुको शरिर खानतलासी गर्दा ईमरान सिद्दिकी हलवाईको साथबाट खैरो धुलो पदार्थको शुद्द तौल ३१ ग्राम १६० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
त्यस्तै वडा प्रहरी कार्यालय लमहीबाट गस्तीमा खटिएको टोलीले पनि १ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम (पुर्व) पुथा उत्तरगंगा गा.पा.वडा नं. १२ बस्ने बर्ष २६ को सुजन परियार रहेका छन् । सोमवार दिउँसो अन्दाजी २ बजेको समयमा लमही नगरपालिका वडा नम्बर ५ लमही बसपार्क स्थित लागु औषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा परियारलार्ई उक्त स्थानमा संकास्पद रुपमा उभिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका परियारको शरीर रितपुर्वक खानतलासी लिदा निजको साथबाट प्लाष्टिक हटाई तौल गर्दा १३ ग्राम २९० मिलिग्राम परिमाणको २ वटा पुडिया लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो रङको धुलो फेला पारेको छ । पक्राउ परेका परियारलाई दाङ जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे