सडक क्षेत्र भित्रको रूख कटान मुद्दामा : राप्तीका अध्यक्ष बिष्ट र ३ वडाध्यक्ष सहित ८ जना दोषी ठहर



सडक क्षेत्र भित्रको रूख कटान मुद्दामा : राप्तीका अध्यक्ष बिष्ट र ३ वडाध्यक्ष सहित ८ जना दोषी ठहर

भालुवाङ ७ पुस । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीको सौन्दर्यकरण गर्ने नाममा पूर्व—पश्चिम राजमार्गका जथाभावी रुख कटान गरेको मुद्दामा राप्ती गाउँपालिकाका अध्यक्ष बिष्ट र ३ जना वडा अध्यक्ष सहित ८ जना दोषी ठहर भएका छन् । दाङ जिल्ला अदालतले उक्त मुद्दाको सुनवाई गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, ३ जना वडा अध्यक्ष सहित ८ जनालाई दोषी ठहर गरेको हो ।

गत पुस २ गते जिल्ला न्यायाधीश राजेश्वर अर्यालको एकल इजलासले राप्ती गाउँपालिकाका अध्यक्ष विष्ट, वडाध्यक्ष चौधरी समेत ९ जना विरुद्ध ‘बिना ईजाजत प्रमाण बेगर सडक क्षेत्राधिकार भित्रको रुख काटी काठ ओसारपसार गरेको’ मुद्दामा फैसला सुनाएको अदालतका सुचना अधिकारी गोकर्ण वलीले जानकारी दिए । वडा नं. ४ का वडा अध्यक्ष बीरबहादुर चौधरी समेत ९ जना विरुद्ध दायर भएको रुख काटेर ओसारपसार गरेको मुद्दामा आंशिक अभियोग दाबी पुग्ने फैसला गरेको छ ।
सुचना अधिकारी वलीका अनुसार अदालतले राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बीर बहादुर चौधरीलाई १ महिना कैद र १ लाख ४१ हजार २ सय २६ रुपैयाँ बिगो भराउने आदेश भएको अदालतका सुचना अधिकारी गोकर्ण वलीले जानकारी दिए ।  राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित १ नम्बर वडा अध्यक्ष गेमे खड्का, ५ नम्बर वडा अध्यक्ष देवप्रसाद चौधरी, काठ खरिद गर्ने झविन्द्र भण्डारी, अभियान चौधरी, नन्दु गिरी र केशरबहादुर चौधरीलाई १५/१५ दिनको कैद सजायको फैसला सुनाएको छ ।

त्यस्तै तत्कालिन सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवाललाई भने अदालतले सफाइ दिएको सुचना अधिकारी वलीले जानकारी दिए ।  फैसलाको पूर्णपाठ भने आउन अझै समय लाग्ने सुचना अधिकारी वलीले बताए । २०८० मंसिर १० गते डिभिजन वन कार्यालय लमही, देउखुरी, दाङका स.ब.अ. छोटेलाल चौधरीको जाहेरी प्रतिवेदनका आधारमा मुद्दा परेको थियो ।

तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट राप्ती गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका विष्ट सहितको समूहले भालुवाङ देखि सिंगेखोला सम्म पूर्व पश्चिम महेन्द्र राजमार्गको दायाँ र बायाँ रहेका रुखहरू बिना अनुमति काटेर ओसारपसार गरेकाे आराेप लागेकाे थियाे । सो कार्यको विरुद्धमा उनीहरूलाई हदैसम्मको कारबाही माग राखेर दाङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे