आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गर्न दाङका पत्रकारहरुलाई प्रेस काउन्सिलको सुझाव



आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गर्न दाङका पत्रकारहरुलाई प्रेस काउन्सिलको सुझाव

दाङ ५ पुस । पत्रकारिता क्षेत्रमा आचारसंहिताको पालना र त्यसप्रतिको जागरण अभिवृद्धि गर्ने उद्देश्यले प्रेस काउन्सिल नेपालले घोराहीमा शुक्रवार आचारसंहिता जागरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समय सञ्चार माध्यमको स्वरूप परिवर्तन हुँदै गइरहेको र सामाजिक सञ्जाल मार्फत सामग्री सम्प्रेषणको प्रभाव बढ्दै गएको सन्दर्भमा आचारसंहिताको आवश्यकता झन् महत्वपूर्ण बन्दै गएको सहभागी वक्ताहरूले वताएका छन् ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सह–प्रशासकीय अधिकृत रामशरण बोहराले पत्रकार आचारसंहितामा उल्लेख भएका मुख्य विषयवस्तु र त्यसको व्यवहारिक पक्षबारे जानकारी गराए । उनले पछिल्लो समय परम्परागत मिडिया भन्दा सामाजिक सञ्जाल र अनलाइन प्लेट फर्मबाट समाचार तथा सामग्री सम्प्रेषण गर्ने चलन तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै यसले चुनौती समेत थपेको बताए । बोहराले दर्ता नभएका अनलाइन माध्यमहरू गैरजिम्मेवार रूपमा प्रस्तुत हुने गरेको गुनासो बढिरहेको भन्दै यस्ता माध्यममाथि आवश्यक परे बन्द गर्ने सम्मको कारवाही गर्न सकिने चेतावनी दिए । उनले आचारसंहिता मानिसले कहिलेकाहीं विर्सने तर कारवाहीलाई सधैं सम्झिरहने अवस्था हुने गरेको उल्लेख गर्दै यही कारणले कतिपय अवस्थामा काउन्सिललाई कारबाहीको प्रक्रियामा जानुपर्ने वाध्यता आउने गरेको स्पष्ट पारे । आचारसंहिता पत्रकारिता पेशाको आत्मा भएको भन्दै यसको पालना नगर्दा व्यक्तिगत मात्र नभई समग्र पेशामाथि नै प्रश्न उठ्ने बोहराको भनाइ थियो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य शान्तराम विडारीले काउन्सिलले हाल गरिरहेका गतिविधिहरूका बारेमा जानकारी गराए । उनले प्रेस काउन्सिलले आचारहिता अनुगमन गर्ने, निर्यामत रूपमा पत्रपत्रिकाको प्रकाशन अनुगमन गर्ने, सञ्चार माध्यमहरूको वर्गीकरण गर्ने लगायतका महत्वपूर्ण काम गरिरहेको बताए । यी कामहरू पत्रकारिता क्षेत्रलाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन लक्षित रहेको उनको धारणा थियो । कार्यक्रमका अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कमार शर्मा आचार्यले पत्रकारिता क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई प्रश्रय दिने काम आफूहरूले रोक्ने स्पष्ट प्रतिवद्धता व्यक्त गरे । उनले प्रेस काउन्सिललाई अझ राम्रो र प्रभावकारी कामका लागि परिचालन गर्ने बताउँदै आचारसंहिता पालना गर्ने मिडियाहरू कुनै पनि अवस्थामा समस्यामा नपर्ने दावी गरे । आचार्यले मिडिया र मिडियाकर्मीलाई संरक्षण गर्ने दायित्व प्रेस काउन्सिलको रहेको उल्लेख गर्दै यसका लागि सञ्चार माध्यम र सञ्चारकर्मीहरूको सहयोग अपरिहार्य रहेकोमा जोड दिए ।

अन्तरक्रिया कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्षहरू प्रताप रेग्मी र डा. सुदीप गौतम, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अजयदीप शर्मा, युगबोध दैनिककी सम्पादक लक्ष्मी आचार्य तथा नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष अमर छितिज भण्डारी, अग्रज पत्रकार राधेश्याम गुप्ता, महेश रिजाल लगायतले आ–आफ्ना सुझावहरू राखेका थिए । वक्ताहरूले पत्रकारिता क्षेत्रमा व्यावसायिकता, उत्तरदायित्व र आत्मअनुशासन आवश्यक रहेको बताउँदै आचारसंहिता व्यवहारमै लागू हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागी पत्रकारहरूले सामाजिक सञ्जालको बढ्दो प्रभाव, फेक न्युजको चुनौती र पत्रकारको भूमिकाबारे गम्भीर छलफल हुनुपर्ने बताएका थिए । आचारसंहिता जागरण कार्यक्रम व्यापक बनाउनुपर्ने भन्दै पत्रकारहरूलाई आचारसंहिता र पेशागत मर्यादाबारे पुनः स्मरण गराउने र जिम्मेवार पत्रकारिता प्रवद्र्धनमा सहयोग पुग्ने सुझाव वक्ताहरुले दिएका थिए । राप्ती पाेष्ट राष्ट्रिय दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे