आशाका किरण संस्थाद्वारा जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न : २४  स्थानमा जेब्रा क्रसिङ निर्माण



आशाका किरण संस्थाद्वारा जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न : २४  स्थानमा जेब्रा क्रसिङ निर्माण

भालुवाङ ५ पुस । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले सडक दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरेको  जेब्रा क्रसिङ बनाउने कार्य सम्पन्न गरेकाे छ ।

यस वर्षको देउसीभैलाबाट संकलित रकम मध्ये खर्च कटाएर बचेको रकमको ५० प्रतिशत रकमले सामाजिक क्षेत्रमा खर्च गर्ने गरी संस्थाले पहिलो काम सडक दुर्घटना न्यूनीकरणका लागि जेब्रा क्रसिङ बनाउन सुरु गरेको थियो । सो संस्थाले भालुवाङ– प्युठान सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर १ शान्तिपुर चैते देखि भालुवाङ सम्म र लमही–भालुवाङ सडक खण्डको भालुवाङ देखि वडा नम्बर ५ को पहरूवा सम्म गरेर कुल २४ वटा जेब्रा क्रसिङ निर्माण गरेको संस्थाका अध्यक्ष दिवस आचार्यले जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङको सहकार्यमा गत कार्तिक २० गते देखि सुरू गरेको अभियान पुस ५ गते शनिबार संस्थाले राप्ती गाउँपालिका-२ कटेशनाला र बराखुट्टी चोक त्यसै गरि वडा नम्बर ३ को मसुरिया चोकमा जेब्रा क्रसिङ निर्माण गरेर अभियानको समापन गरेको हो ।  उनका अनुसार शान्तिपुर चैतेमा १, उपल्लो भालुवाङमा ४, भालुवाङ पुल्चोकमा ३, पाखापानीमा १, कटेशनाला १, लालमटियामा १, बराखुट्टीमा ३, मसुरियामा ३, मौरीघाटमा ३, पिपरीमा १, सिसहनियाँमा २ र पहरूवामा १ स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।  ती दुवै सडक खण्डमा विद्यार्थी तथा पैदल यात्रीहरूले जथाभाबी बाटो काट्दा दुर्घटनाको जोखिम बढेका कारण विद्यार्थी र पैदलयात्रीलाई लक्षित गरी जेब्रा क्रसिङ बनाउन थालिएको हो । संस्थाका अध्यक्ष आचार्यले जेब्रा क्रसिङले सो सडक खण्डमा दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने विश्वास लिएको बताए । उनले जेब्रा क्रसिङ र स्पष्ट सङ्केत नहुँदा जथाभाबी सडक पार गर्दा भइरहेका दुर्घटनामा न्यूनीकरण गर्नका साथै विद्यार्थी तथा यात्रुहरूमा सचेतना समेत अभिवृद्धि गर्ने बताए ।

पर्याप्त स्रोत, साधनको अभावले जेब्रा क्रसिङ बनाउन नसकिएका बेला युवाहरुले सकारात्मक कामको थालनी गरेको प्रति स्थानीयहरु समेत खुसी भएका छन् । जेब्रा क्रसिङ निमार्ण अभियानमा आशाका किरण संस्थाका अध्यक्ष दिवस आचार्य, वरिष्ठ उपाध्यक्ष छविलाल कंडेल, महासचिव लोकमणी भुसाल, सचिव पवित्रा विश्वकर्मा, कोषाध्यक्ष ममता गिरी, प्रेस संयोजक ओमप्रकाश गुप्ता, इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख पुष्करसिंह ऐरी, अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङका कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक नरेन्द्र बहादुर शाही र सदस्यहरु सिर्जना खड्का, पत्रकार सन्तोष थापा लगायतको विशेष उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे