देउखुरीकाे राप्ती नदीमा चराको गणना सुरू, ६ गणक परिचालन
देउखुरी १ पुस । दाङकाे देउखुरी स्थित राप्ती नदीमा साेमबार देखि जलपक्षीकोे गणना सुरू भएको छ । यस वर्षको गणना जनवरी ४ देखि सुरू भएको भए पनि देउखुरीमा भने आइतवारबाट गणना शुरु गरिएकाे हो ।
वर्ड लाईफ इन्टरनेशनलको सहयोगमा नेपाल पंक्षी संरक्षरण संघद्वारा संचालित देउखुरी चुरे वन तथा पश्चिम राप्ती सिमसार क्षेत्रमा आप्रवासी चराहरूको संरक्षणहरूका लागि स्थानीय सरकार र समुदायको संलग्नतामा संचालित परियोजना अन्तरगत जाडो सिजनमा आउने चराहरूको गणना, चराको अवस्था, जोखिम र चरा पहिचान गर्नको लागि चरा गणना गरिएकाे हाे। खास गरी राप्ती नदीलाई चराहरुका लागि महत्वपूर्ण स्थान मानिएको छ ।

देउखुरीको भालुवाङ स्थित हुँदै पश्चिम बाँके राष्ट्रिय निकुञ्ज संग सीमा जोडिएका देउखुरीका राप्ती नदि आसपास सम्म गरी चार समूहमा चरा गणना गरिने नेपाल पंक्षी संरक्षरण संघका परियोजना अधिकृत भुपाल नेपालीले बताए । राप्ती नदीमा रैथाने, साइबेरिया, चीन, बर्मा, मंगोलिया, रुस, कोरिया र थाइल्यान्ड लगायतका देशहरूबाट आगन्तुक चराहरू यस क्षेत्रमा आउने गरेको परियोजना अधिकृत नेपालीले बताए ।
आन्तरिक रूपमा समेत देशका विभिन्न स्थानबाट बसाइँसराई गरी चराहरू यस क्षेत्रमा आउने गरेको उनले बताए । उत्तरी ध्रुवमा हिउँ परेपछि यहाँ आउने चराहरूमा हाँस प्रजातिका चरा, जलेवा लगायत विभिन्न प्रजातिका चराहरू हुने गरेको अधिकृत भुपाल नेपालीको भनाइ छ । विशेषगरी पानीमा रहने चराहरू यहाँ बसाइँसराई गरी आउने गरेका छन् । देउखुरी तर्फको राप्ती नदीमा धेरै मात्रामा देखिने चरा चखेवा हो ।

ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपंक्षीहरूको संख्या, प्रजाति र वासस्थानको अवस्थाबारे जानकारी लिन हरेक वर्ष जलपंक्षी गणना गरिदै आएकाे परियोजना अधिकृत नेपालीले बताए । पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइसराई गर्ने चराहरूको तथ्याङ्क संकलन गरिने अधिकृत नेपालीले बताए ।
गतवर्ष जनवरि महिनामा भएको गणनामा विभिन्न देशबाट चिसो छल्नका लागि देउखुरीमा चराहरू आएको तथ्यांकमा देखिएको छ । देउखुरीमा ३ सय १९ प्रजातिका चराहरू देखापरेका थिए । पछिल्लो समय ३ सय ४४ प्रजातिका चराहरू देखापरेको पन्छि संरक्षण संघको तथ्यांकमा रहेको छ ।

नेपालमा पाइने कुल चरा मध्य दुई सयभन्दा बढी प्रजातीका चरा पानीमा आश्रित रहेको छ । यसमध्ये एक सय प्रजाति आगन्तुक चरा रहेका छन् । जाडोमा आउने आगन्तुक चरा नदी छेउछाउ, सिमसारमा बस्ने गर्दछ । जाडो मौसममा यहाँ विभिन्न प्रजातिका चराहरूको उपस्थिति बाक्लो हुने गरेकाले चरा गणना गर्ने गरिएको छ । यो समयमा बाहिरबाट जलपक्षीहरू आउने र जाडो सकिएपछि फर्कने गर्दछन् । जसमा सिउरे डुबुल्की चरा, कल हाँस, ध्वाँसे सिङ कुखुरो, सिङ कुखुरो, हलीमुखे, जुरे हुटिट्याउँ, काली जुरे हाँस, स्वेत माछा कलहाँस भेटिएका थिए ।
चरा गणकका रुपमा नेपाल पंक्षी संरक्षरण संघका परियोजना अधिकृतहरु भुपाल नेपाली, अमृत नेपाली, सुरज बस्नेत, डाक्टर आनन्द चौधरी, फिल्ड अफिसर इश्वरीप्रसाद चौधरी र पृथ्वी चौधरी रहेका छन् । अब तीन महिना सम्म निरन्तर चरा गणना गरिनेछ ।


