बाल कल्याणका विद्यार्थीद्वारा खाजाको पैसा बचाएर अग्नी पीडितलाई सहयोग
सिसहनियाँ २७ मंसिर । दाङको राप्ती गाउँपालिका–५ पहरूवामा रहेको बालकल्याण आधारभूत विद्यालयका जुनियर रेडक्रस सर्कल र बिहानी बाल क्लबका विद्यार्थीहरूले आगलागी पीडित परिवारलाई सहयोग गरेका छन् ।
विद्यार्थीहरूले दैनिक खाजाको रकम बचत गरी मंसिर ४ गते कुखुरा फर्ममा भएको आगलागीबाट प्रभावित सोही विद्यालयका छात्रा समीक्षा तिवारीका अभिभावकलाई शुक्रबार १ हजार ८ सय ५ रुपैयाँ हस्तान्तरण गरेका हुन्। सो रकम हस्तान्तरण कार्यक्रममा जुनियर रेडक्रस सर्कलका शिक्षक लक्ष्मी थापा र बिहानी बाल क्लबका संयोजक शिक्षक आशिष शाहले सहजीकरण गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक अनुपम योगीका अनुसार, विद्यार्थीहरूको सानो प्रयासले पनि ठूलो मानवीय सहयोग बन्न सक्छ। कार्यक्रममा दुबै समूहका विद्यार्थीहरूले सक्रिय सहभागिता देखाएका थिए।
प्रतिक्रिया दिनुहोस्

