लुम्बिनी प्रदेशमा मानव वन्यजन्तु द्वन्द्व बढ्दो, बितेको तीन महिनामा ४ जनाको मृत्यु



लुम्बिनी प्रदेशमा मानव वन्यजन्तु द्वन्द्व बढ्दो, बितेको तीन महिनामा ४ जनाको मृत्यु

भालुवाङ २४ मंसिर । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिको समिक्षा सुरु गरेको छ । प्रदेश प्रशासनिक केन्द्र राप्ती उपत्यका(देउखुरी)ले त्रैमासिक समिक्षा सुरु गरेको हो ।

समिक्षाको उद्घाटन वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले गरे । वन मन्त्री कलवारले संरक्षण र आयआर्जनको काम दुवैलाई संगसंगै अघि बढाउनुपर्ने बताए । उनले प्रदेशमा जडिवुटी उत्पादनको सम्भावना राम्रो रहेको भन्दै सरकारले समेत कार्यक्रम बनाउने स्पष्ट पारे ।


वन मन्त्रालयका सचिव प्रमोद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा त्रैमासिक उपलब्धिहरु सार्वजनिक गरिएको थियो । सो अवसरमा प्रदेशमा मानव बन्यजन्तु द्वन्द्वका घटना बढ्दै गएको प्रति चिन्ता व्यक्त गरिएको छ । चालु आर्थिक बर्षको वितेको तीन महिनामा मानव बन्यजन्तु द्वद्वबाट चार जना व्यक्तिको मृत्यु भएको छ ।

प्रदेश वन निर्देशनालयका अनुसार बर्दियामा दुई, बाँकेमा एक र कपिलवस्तुमा एकगरी चार जनाको मृत्युभएको छ भने ६ जना घाईते भएका छन् । बर्दियामा चार, नवलपरासी पश्चिममा दुई जना घाईते भएका हुन । राहत स्वरुप ५२ लाख २१ हजार ६ सय रुपैयाँ वितरण गर्न बाँकी रहेको निमित्त महानिर्देशक प्रभात सापकोटाले जानकारी दिए । मानव वन्यजन्तु द्धन्द झन जटिल हुँदै गएको खासगरी चितुवा र वाँदरवाट समस्या सृजना भएको देखिएको हो ।

प्रदेशमा सामुदायिक वन ४ हजार ४९ वटा छन् । जसमा ९ लाख ३७ हजार ८ सय २६ उपभोक्ता आवद्ध छन् । साझेदारी वन ८, कबुलियती वन ४ सय १६ वटा छन् । नीजि वन एक हजार १९, धार्मिक वन ३०, चक्ला वन ३ र संरक्षित वन ४ वटा छन् । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयको पहिलो त्रैमासिक समीक्षा बैठकले वन क्षेत्र सम्बन्धी थुप्रै चुनौती र सुधारका आवश्यकताहरू स्पष्ट पारेको छ ।

बैठकमा प्रस्तुत प्रतिवेदनले वन सम्वर्धन प्रणालिमा आधारित वन व्यवस्थापन विस्तार हुँदै गएको तर कार्ययोजना पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गरेको छ । पहिलो चरणमा उत्पादन वृद्धि, मूल्य स्थिरता र सहज आपूर्ति जस्ता उद्देश्य पूरा हुँदै गए पनि दोस्रो चरणमा थप प्रयास आवश्यक रहेको निष्कर्ष समेत निकालिएको छ ।

मन्त्रालयका महाशाखा प्रमुख महेन्द्रराज वाग्लेकाे स्वागत मन्तव्य तथा बिषय प्रवेशबाट शुरु भएकाे समिक्षा उद्घाटन कार्यक्रमकाे सञ्चालन मन्त्रालयका वरिष्ठ वन अधिकृत टोलकराज चापागाईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे