रास्वपा यूकेबाट समानुपातिक उम्मेदवारमा दाङका रमेश बेल्वासे सिफारिस



रास्वपा यूकेबाट समानुपातिक उम्मेदवारमा दाङका रमेश बेल्वासे सिफारिस

भालुवाङ २४ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टीको बेलायत शाखाले फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ बेलायतबाट एक जना उम्मेदवारकाे नाम सिफारिस गरेको छ ।

रास्वपा निकट प्रवास नेपाली सम्पर्क विभाग बेलायतले खुला आवेदन र छनोटको सम्पूर्ण प्रक्रिया पूरा गरी युवा सामाजिक अभियन्ता दाङकाे राप्ती गाउँपालिका–३ निवासी रमेश बेल्वासेलाई सिफारिस गरिएको हाे । विभागका महासचिव कृष्ण लुईंटेलले मंगलबार एक वक्तव्य जारी गर्दै प्राप्त आवेदनहरुमा संलग्न उम्मेदवारहरुको विवरण, कागजात र अनुभवको मुल्यांकनपछि योग्यता, सक्रियता र संगठनात्मक योगदानका आधारमा छनोट भएका बेल्वासेको नाम केन्द्रीय कार्यालयमा सिफारिश गरिएको जनाएकाे छ ।

विभागले यसअघि १० दिने म्याद दिएर बेलायतबाट इच्छुक उम्मेदवारको लागि खुला आवेदन गरेकोमा जम्मा ७ आवेदन प्राप्त भएको दावी गरिएको छ  उम्मेदवारमा सिफारिश भएका बेल्वासे रास्वपा यूके स्थापना कालदेखिकै सक्रिय अभियन्ता हुन् । उनले सदस्यता अभियान तथा विद्यार्थी हेल्पलाइन संयोजन गर्दै आएका छन् । बेल्वासेले बेलायतबाट बीबीए तथा फाइनान्सियल मेनेजमेन्टमा मास्टर्स पूरा गरेका छन् । उनीसंग वित्त, बैकिंङ, नीति निर्माण तथा सामाजिक सहयोगका क्षेत्रमा अनुभव रहेको विभागले जनाएको छ। सन् २०२३ मा बेलायत आउनुअघि बेल्वासेले इमिर्जिङ नेपाल नामक कम्पनीको सिइओको जिम्मेवारी सम्हालेका थिए । रास्वपा यूकेमा सहसचिवको जिम्मेवारीमा रहेका उनले बेलायतस्थित झण्डै आधा दर्जन संस्थाको सहकार्यमा सञ्चालित विद्यार्थी हेल्पलाइनको सक्रिय अगुवाइ गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे