राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी घरमै गड्यौला मल उत्पादन गर्दै
सिसहनियाँ २१ मंसिर । दाङको राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले घरमै भर्मी कम्पोस्ट (गड्यौला) मल उत्पादन गर्दै कृषिमा आत्मनिर्भरता र उदाहरणीय नेतृत्व प्रस्तुत गरेकी छिन् । सार्वजनिक जीवनको दैनिक व्यस्तता हुँदाहुँदै पनि उहाँले गत जेठदेखि राप्ती–६ भगवानपुरस्थित आफ्नै घरमा जैविक मल उत्पादनलाई निरन्तरता दिइरहेकी छिन् । गाउँपालिकामा जैविक कृषि प्रवर्द्धन तीव्र रूपमा अघि बढिरहेका बेला जनप्रतिनिधि स्वयं अर्गानिक मल उत्पादनमा जुट्नु स्थानीयका लागि प्रेरणादायी बनेको छ।
उपाध्यक्ष चौधरीका अनुसार पछिल्ला वर्षहरूमा रासायनिक मलको अत्यधिक प्रयोगका कारण माटो कमजोर हुने, बालीको गुणस्तर घट्ने र मानव स्वास्थ्यमा दीर्घकालीन असर पर्ने समस्या बढेपछि किसानहरू अर्गानिक विकल्पतर्फ आकर्षित हुँदै गएका छन्। “रासायनिक मलको असर स्पष्ट देखिन थालेको छ। माटो, वातावरण र स्वास्थ्य तीनै क्षेत्रमा नकारात्मक प्रभाव परेको छ,” उनले भनिन्, “त्यसैले अहिले गाउँ–टोलमै अर्गानिक मलको माग तीव्र रूपमा बढ्दै गएको छ।” उहाँले कृषकहरूलाई दीर्घकालीन फाइदाका लागि जैविक खेती अपनाउन आग्रह पनि गरिन्। घरमा रहेका १७ वटा भैंसीबाट निस्कने गोबरलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्दै भर्मी कम्पोस्ट उत्पादन सुरु गरिएको हो। सुरुवाती चरणमा उत्पादन भएको मल आफ्नै खेतबारीमा प्रयोग गरिए पनि अहिले स्थानीय किसानलाई बिक्री गर्न थालिएको छ। हालसम्म करिब १६–१७ हजार रुपैयाँ बराबरको मल बिक्री भइसकेको र प्रति केजी २० रुपैयाँमा बिक्री हुने गरेको उपाध्यक्ष चौधरी बताउँछिन्।
६४ केजी गड्यौला ल्याएर सानो परिमाणमा परीक्षणका रूपमा सुरु गरिएको यो प्रयास केही महिनामै राम्रो सफल भएपछि अहिले यसलाई थप व्यवस्थित र व्यावसायिक रूपमा विस्तार गर्ने योजनामा उनी छिन्। “पहिलो चरणमै राम्रो परिणाम आएपछि अब यसलाई अझ व्यापक रूपमा अगाडि बढाउने सोच बनाएकी छु,” चौधरीले बताइन्। उनले मल उत्पादनका लागि अहिलेसम्म कुनै पनि निकायबाट अनुदान नलिएको जानकारी पनि दिइन्। उपाध्यक्षका रूपमा बैठक, कार्यक्रम र योजना अनुगमन जस्ता दैनिकी अत्यन्त व्यस्त भए पनि बिहान–बेलुका छुट्याइने केही समयमा उहाँ निरन्तर जैविक मल उत्पादनमा जुटिरहेकी छिन् । उनको यस सक्रियताले ‘कामसँग लगाव भए समय बाधा नबन्ने’ सन्देश दिएको छ। कम्लहरी जीवनबाट सुरु भएको संघर्ष, मेहनत र लगनले आज उनलाई गाउँपालिकाको नेतृत्व जिम्मेवारी सम्म पुर्याएको छ। “कम्लहरी भएर हुर्किएको मान्छे हुँ, आज जनप्रतिनिधिको हैसियतमा छु। श्रम नै सम्मान हो भन्ने कुरा जीवनले सिकाएको हो,” उनले स्मरण गरिन्।
राप्ती गाउँपालिकाले जैविक कृषि, वातावरणमैत्री खेती र स्थानीय उत्पादन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। त्यही बीच जनप्रतिनिधि स्वयंले घरमै भर्मी कम्पोस्ट उत्पादन गरेर देखाएको सक्रियताले गाउँमा जैविक मलप्रतिको सम्भावना, विश्वास र प्रयोग दुवै बढाएको स्थानीयवासीहरूको बुझाइ छ। उपाध्यक्ष चौधरीको यो पहलले कृषिमा आत्मनिर्भरता, उत्पादनशिलता र जैविक खेतीप्रतिको आकर्षण बढाउनुका साथै महिलाहरूका लागि श्रम, संघर्ष र सफलताको नयाँ प्रेरणा दिएको छ। उनको निरन्तर प्रयासले राप्तीको कृषि प्रणाली दीर्घकालीन रूपमा जैविक र दिगो दिशातर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।

