आशाका किरण संस्थाको पहलमा भालुवाङ अस्पताललाई २ वटा रक्तदान कुर्सी प्रदान
भालुवाङ १८ मंसिर । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले भालुवाङ अस्पताललाई २ वटा रक्तदान कुर्सी प्रदान गरेको छ।
अस्पतालमा रक्तदानका समयमा आवश्यक उपकरण अभाव हुँदा बिरामीकै बेड प्रयोग गर्नुपर्ने बाध्यता रहेको अवस्थामा यो सहयोग ठूलो राहतका रूपमा आएको अस्पतालले जनाएको छ।
अस्पतालमा रगत आवश्यक पर्ने बिरामीहरूलाई सहज र सुरक्षित तरिकाले सेवा दिन कठिनाइ भइरहेको थियो। विशेषगरी आकस्मिक अवस्थामा रक्तदान तथा रक्त सञ्चार व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो। नयाँ कुर्सी उपलब्ध भएपछि अब सेवा व्यवस्थित, सुरक्षित र थप प्रभावकारी हुने अस्पतालले जनाएको छ।
उक्त कुर्सी अमेरिका निवासी डा. निसराज बस्नेतको सहयोग, अधिवक्ता अर्नब चौधरीको समन्वय र आशाका किरण संस्थाको पहलमा अस्पतालका चिकित्सक डा. राणा बोगटीलाई संस्थाका संस्थापक अध्यक्ष सुर्यकिरण केसी, सहकोषाध्यक्ष शिवराज भुसाल र अधिवक्ता अर्नब चौधरीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् । संस्थाका सहकोषाध्यक्ष शिवराज भुसालका अनुसार समुदायमा स्वास्थ्य सेवालाई बलियो बनाउन यस्ता सहयोग निरन्तर गर्ने योजना बताए। उनले अस्पतालमा आवश्यक उपकरण अभावका कारण सर्वसाधारणले पाउने सेवामा असर परिरहेको भन्दै सामुदायिक सहयोग आवश्यक रहेको बताएका छन् ।
अस्पताल प्रशासनले सहयोगदाताप्रति आभार व्यक्त गर्दै आधुनिक तथा आधारभूत स्वास्थ्य सेवा विस्तारका लागि यस्ता सामुदायिक समर्थन महत्त्वपूर्ण हुने प्रतिक्रिया दिएको छ।

