लुम्बिनीमा नेपाली कम्युनिष्ट पार्टीको संसदीय दल गठन



लुम्बिनीमा नेपाली कम्युनिष्ट पार्टीको संसदीय दल गठन

देउखुरी ९ मङ्सिर । लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरूको संयुक्त बैठक बसेर आफूहरूको स्वतः एकीकरण भएको घोषणा गरिएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १० अनुसार पाँच दल एकीकृत भई ‘नेपाली कम्युनिष्ट पार्टी’ नामक नयाँ दल मिति २०८२/०७/२८ मा निर्वाचन आयोगमा दर्ता भएपछि प्रदेशसभामा पनि संयुक्त संसदीय संरचना गठन गरिएको नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता जोख बहादुर महराले बताए ।

बैठकमा माओवादी केन्द्रका सांसद— जोखबहादुर महरा, इन्द्रजीत थारु, दिपेन्द्र कुमार पुन, धनबहादुर मास्की, कृष्णा कुश्मा थारु, कृष्णा केसी, दिलकुमारी बुढा, यमबहादुर नेपाली, मिना खड्का, सुरुल पुन र एकीकृत समाजवादीकी सांसद भगवती अधिकारी उपस्थित रहेका थिए ।

बैठकले नेपाली कम्युनिष्ट पार्टी, लुम्बिनी प्रदेश सभा संसदीय दल औपचारिक रूपमा गठन गर्दै नेतृत्व चयन गरेको छ । निर्णय अनुसार  दल नेता  जोखबहादुर महरा ,प्रमुख सचेत  इन्द्रजीत थारु, सचेतक भगवती अधिकारीलाई जिम्मेवारी दिइएको छ । महरा र थारु माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् भने अधिकारी एकीकृत समाजवादीबाट समानुपातिक सांसद हुन् ।

लुम्बिनी प्रदेशसभामा हाल कुल ८६ जना सांसद छन् । तीमध्ये सभामुखसहित ११ जना माओवादी केन्द्र र १ जना समाजवादी गरी हाल १२ जना सांसद नेपाली कम्युनिष्ट पार्टीका बनेका छन् ।

एकीकृत दलका सांसदहरूले अबदेखि लुम्बिनी प्रदेशसभामा ‘नेपाली कम्युनिष्ट पार्टी’ नामबाट  संसदीय दलका रूपमा कार्य गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे