राप्तीका किसानका लागि पोखरामा सञ्चालित दुग्ध प्रशोधन तथा विविधिकरण तालिम सकियो
दाङ ६ मंसिर । दाङको राप्ती गाउँपालिकाका दुग्ध व्यवसायीहरुलाई लक्षित गरि पोखरामा सञ्चालित दुग्ध प्रशोधन तथा विविधिकरण तालिम शनिवार सकिएको छ ।
राप्ती गाउँपालिकाको आयोजना तथा राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराको समन्वयमा राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरामा तालिम सम्पन्न भएको हो । राप्ती गाउँपालिकाका सक्रिय दुग्ध व्यवसायीहरूलाई दूधबाट बन्ने विभिन्न मूल्य अभिवृद्धि भएका पदार्थहरू बनाउने व्यावहारिक सीप प्रदान गरी उनीहरूको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले ६ दिने तालिमको समापन गरिएकोे हो । तालिम समापन कार्यक्रममा बोल्दै राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख डा. जगदिश पाण्डेयले मानव भएपछि हरेक समय सिक्नको लागि प्रयोग गर्नुपर्ने र त्यसलाई लगनशीलताका साथ निरन्तरता दिनुपर्ने बताए ।
साथै सहभागीहरुको तालिम अगाडी र पछाडीको व्यवसाय संचालनको प्रकृति फरक एवम् उत्कृष्ट हुने विश्वास व्यक्त गर्दै राष्ट्रिय पशु प्रजनन कार्यालयबाट संचालन हुने कार्यक्रमहरुमा समेत गाउँपालिकालाई प्राथमिकतामा राखिने बताए । कार्यक्रममा सहायक पशु विकास अधिकृत शेरबहादुर हमालले गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले तालिम संचालनको लागि अत्यन्त सकारात्म सोँच देखाएको र राष्ट्रिय पशु प्रजनन कार्यालयले समयमै सहजीकरणको भूमिका निर्वाह गरेको कारण कार्यक्रम गर्न सफल भएको भन्दै धन्यवाद ज्ञापन गरे । साथै उनले पशु प्रजनन् कार्यालय पोखराले कार्यक्रम सफल वनाउन प्रयोगात्मक सिप सिकाउने कुरामा कुनै कसुर बाँकी नराखेको बताए । कार्यक्रमका वरिष्ठ पशु विकास अधिकृत महेन्द्रराज पाण्डेले यस्ता कार्यक्रमहरुले व्यवसायीहरुको मनोवल बढ्ने र सहजीकरणको लागि राष्ट्रिय पशु प्रजनन कार्यालय हरपल तयार रहेको बताए ।
साथै यस तालिममा सहभागी र सहजकर्ताको स्वभावले एउटै परिवार जस्तै महसुस भएको बताए । कार्यक्रममा सहभागी सुर्यप्रसाद सुवेदीले ६ दिने तालिम अत्यन्त फलदायक भएको र आगामी बर्षहरुमा गाउँपालिकाले यस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखी बजेट व्यवस्थापन गर्नुपर्ने समेत बताए । कार्यक्रममा कार्यक्रमको संचालन राप्ती गाउँपालिकाका प्रशासकीय अधिकृत अनिल आचार्यले गरेका थिए ।
