राप्तीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि निशुल्क स्वास्थ्य शिविर सम्पन्न
भालुवाङ ६ मंसिर । दाङको राप्ती गाउँपालिकामा एक दिने शारीरिक अपाङ्गता परीक्षणसम्बन्धी निशुल्क घुम्ती शिविर सम्पन्न भएको छ।
विकलांग मित्र समूह अपांग बाल अस्पताल पुनस्र्थापना केन्द्र (HRDC) बनेपा काभ्रेपलाञ्चोकको आयोजना तथा राप्ती गाउँपालिका दाङको समन्वयमा शनिबार गाउँपालिकाको सभाहल मसुरियामा शिविर सञ्चालन गरिएको हो। शिविरमा ४३ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ। त्यस मध्ये ३३ जनाले फिजियोथेरापी सेवा प्राप्त गरेका छन्। ११ जनालाई कृतिम अंग तथा सहायक सामग्री प्रदान गर्नका लागि नाप लिइएको छ भने ४ जनालाई सहायक सामग्री प्रदान गरिएको छ। यस्तै विभिन्न खुट्टा, हात तथा अन्य शारीरिक समस्या भएका ४ जना व्यक्तिहरुलाई थप उपचार तथा शल्यक्रियाका लागि बनेपास्थित अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रमा रिफर गरिएको छ। शिविरमा सहभागी व्यक्तिहरुलाई निशुल्क फिजियोथेरापी, सहायक सामग्रीसँगै आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको पुनर्स्थापना केन्द्रका लुम्बिनी प्रदेश इन्चार्ज लेखनाथ आचार्यले जानकारी दिएका छन्।
शिविरमा सर्जन डा. नन्द किशोर शहा, फिजियोथेरापिस्ट प्रशंसा भण्डारी र दुर्गा खनाल, सहायक सामग्री प्राविधिक श्याम दाहाल, नर्स प्रतिशा श्रेष्ठ, परामर्शकर्ता मिनबहादुर चन्दलगायतको टोलीले सेवा प्रदान गरेका थिए। शिविरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, पुनर्स्थापना केन्द्रका लुम्बिनी प्रदेश इन्चार्ज लेखनाथ आचार्य, सीबीआर संयोजक नित्रबहादुर देउजा, जीबी चिन्तन लगायतको उपस्थिति रहेको थियो।
