राप्ती कृषि सहकारी संस्था रूपाकोटको दोस्रो साधारणसभा सम्पन्न



राप्ती कृषि सहकारी संस्था रूपाकोटको दोस्रो साधारणसभा सम्पन्न

भालुवाङ ६ मंसिर । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले किसानहरूले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरण गर्ने जिम्मा सरकारले लिने बताएका छन् ।

शनिबार राप्ती गाउँपालिका–९ रूपाकोटमा आयोजित राप्ती कृषि सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभा उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले पछिल्ला वर्षहरूमा रासायनिक मलको अत्यधिक प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै गएको र मानव स्वास्थ्यमा समेत नकारात्मक असर परेको बताए । उनले प्राङ्गारिक मल तथा जैविक विधि प्रयोग गरी सुरक्षित र दीगो कृषि प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । अध्यक्ष विष्टले वडा नं. ९ लाई अर्गानिक मोडल वडाका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए । स्थानीय स्तरमै उत्पादन हुने काेदो, फापर, सिस्नाे, लोकल कुखुरा, खसीबोका तथा अन्य कृषि–पशुपालनजन्य उपज अर्गानिक विधिबाट उत्पादन गर्न सकिने भएकाले कृषकहरू त्यसतर्फ अघि बढ्न आवश्यक भएको उनको भनाइ थियो ।

उत्पादन बिक्रीबारे कृषकमा देखिन सक्ने चिन्तालाई सम्बोधन गर्दै अध्यक्ष विष्टले भने, “उत्पादन बिक्री हुँदैन कि भनेर चिन्ता नगर्नुस् । पालिकाले मसुरियामा प्रत्येक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ । त्यहाँ बिक्री नभए अन्य ठाउँमा समेत बिक्री–वितरणका लागि पालिकाले आवश्यक सहयोग पु¥याउँछ ।” त्यस्तै सहकारीका सदस्यहरूले आधुनिक कृषि प्रविधिको उपयोग, अर्गानिक उत्पादनमा सक्रिय सहभागिता तथा सहकारी प्रणालीमा पारदर्शिता कायम गर्नुपर्ने आवश्यकता अध्यक्ष विष्टले औँल्याए । “सहकारीमार्फत कृषकलाई सीप, प्रविधि र सहुलियतपूर्ण लगानी उपलब्ध गराउन सकेमा गाउँको कृषि क्षेत्रमा गुणात्मक परिवर्तन सम्भव छ,” उनले जोड दिए ।

संस्थाका अध्यक्ष विष्णु कवर योगीको अध्यक्षतामा भएको सभामा वार्षिक प्रगति प्रतिवेदन सचिव विष्णु बहादुर चुहान मगर र आर्थिक प्रतिवेदन कोषाध्यक्ष लिला पुनले प्रस्तुत गर्नु भएको थियोे । संस्थाका उपाध्यक्ष सफि मोहम्मद मियाँको स्वागत मन्तव्यबाट सुरू भएको सभा उद्घाटन समारोहमा वडा अध्यक्ष रिमबहादुर सुनारी मगर, वडा सदस्य ददि बराल, नामसालिङ सामुदायिक विकास केन्द्रका टिम लिडर हिराबहादुर घले, दाङ जिल्ला संयोजक शंशाक आचार्य, फिल्ड संयोजक धर्म बहादुर यादव, देउखुरी टुडेका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सभामा ७ जना सहकारीकर्मीलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । जसमा सफि मोहम्मद मियाँ, सावित्रा सुनारी, किमा कुमारी मगर (सिंजाली), खुमन्ता विक, जयपुन मिया, कमला घर्ती र नामसालिङ सामुदायिक विकास केन्द्र का सामाजिक परिचालक पुष्तमा पुन रहनु भएको थियोे ।

कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष लिला पुनले गर्नु भएको थियोे । १ सय ८५ सेयर सदस्य रहेको सहकारीले गाउँपालिकाको सहयोगमा १७ जना सदस्यलाई उन्नत जातका बाख्रा वितरण, नामसालिङ सामुदायिक विकास केन्द्रबाट प्राप्त रकमलाई घुम्ती कोषमार्फत सहुलियत ब्याजदरमा लगानी तथा विभिन्न कृषि–सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे