दाङको राप्तीमा स्थानिय अपाङ्गता निर्देशन समिति तथा सराेकारवालाहरु बीच समन्वय कार्यक्रम



दाङको राप्तीमा स्थानिय अपाङ्गता निर्देशन समिति तथा सराेकारवालाहरु बीच समन्वय कार्यक्रम

भालुबाङ २४ कार्तिक । दाङको राप्ती गाउँपालिकामा स्थानीय अपाङ्गता निर्देशन समिति तथा सराेकारवालाहरु बीच आइतबार समन्वय कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय अपांग महासंघ नेपालकाे आयोजना सम्पन्न उक्त कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले अपाङ्ग समुदायका हकहित, समावेशी विकास, स्थानीय तहमा समन्वय र सहभागिताको महत्वबारे जोड दिइन्।

उनले भनिन्, “अपाङ्ग समुदायका आवश्यकता र अधिकारलाई दृष्टिगत गर्दै स्थानीय तहले समन्वय र सहयोग प्रवाह गर्नुपर्छ। यसबाट उनीहरूको जीवनस्तर सुधार हुनेछ र समावेशी समाज निर्माणमा मद्दत पुग्नेछ। हामीले अपाङ्गता सम्बन्धी नीतिहरू कार्यान्वयन गर्ने क्रममा स्थानीय स्तरमा सरोकारवालासँग सहकार्यलाई अझ मजबुत बनाउनेछौं।” त्यस्तै उनले आफ्नो हक अधिकारका लागि अपांगता भएका व्यक्तिहरु नै बढी क्रियाशील र चनाखो हुनुपर्ने बताइन् ।

कार्यक्रममा महासंघका अनुगमन तथा मूल्यांकन संयोजक शुभाष ज्ञवाली, वरिष्ठ परियोजना संयोजक जलसा सापकोटा, लेखा अधिकृत सुमित्रा अर्याल तथा लुम्बिनी प्रदेश व्यवस्थापक धिरेन्द्र विकले अपाङ्गता निर्देशन समिताका काम, कर्तव्य र अधिकारबारे जानकारी दिएका थिए ।

कार्यक्रममा पालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउत, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीवनकुमारी जिसी, राप्ती, गढवा गाउँपालिका र लमही नगरपालिकाका राष्ट्रिय अपाङ्ग समन्वय समितिकाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। आयोजक संस्थाका अनुसार, यस कार्यक्रमले अपाङ्ग समुदायलाई लक्षित सेवा प्रवाह, नीति कार्यान्वयन र स्थानीय तहमा समन्वय प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे