लठ्ठहवाका झागु दम्पत्तीलाई आशाका किरण संस्थाद्धारा खाट र म्याट्रेस सहयोग
भालुवाङ १७ कार्तिक । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले चिसो भुुईमा रात बिताइरहेका एक दम्पत्तीलाई खाट र म्याट्रेस सहयोग गरेको छ ।
राप्ती गाउँपालिका–५ लठ्ठहवाका झागुप्रसाद चौधरीको परिवारलाई सो सामाग्री सहयोग गरिएकोे हो । विगत ३ वर्षदेखि प्यारालाइसिसका कारण ओछ्यानमै थलिएका चौधरीको शरीरको कुनै भाग नचल्ने, बोल्न मात्र सक्ने र चिसो भुईमा सुत्न बाध्य भएका दम्पतीलाई सोमबार सो संस्थाले घरमै पुगेर उक्त सामाग्री हस्तान्तरण गरेको हो । संस्थाको पहलमा गढवा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष रविलाल आचार्यले आफ्नी छोरी सामना आचार्यको जन्म दिनको अवसर पारेर १० हजार मूल्य बराबरको १ सेट खाट र तुलसीपुर–१९ निवासी अनिसा शर्माबाट प्राप्त ५ हजार मुल्य बराबरको २ सेट म्याट्रेस तथा १ सेट युरिन म्याट हस्तान्तरण गरिएको छ । संस्थाका पदाधिकारी तथा सदस्यहरु पिडित परिवारको घरमा पुगेर वडा सदस्य सावित्रादेवि दमाईको रोहवरमा उक्त सामाग्री पिडितकी श्रीमती लैहा चौधरीलाई हस्तान्तरण गरेका हुन् । साथै संस्थाकै पहलमा स्वास्थ्यकर्मी शान्ता खनालले बिरामीको स्वास्थ्य चेकजाँच समेत गर्नु भएको थियो ।
सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य सावित्रादेवि दमाई, महिला स्वास्थ्य स्वमसेविका मिठ्ठु चौधरी, संस्थाका अध्यक्ष दिवस आचार्य, महासचिव लोकमणि भुसाल, सचिव पवित्रा विश्वकर्मा, कोषाध्यक्ष ममता गिरी, सदस्य सिर्जना खड्का र प्रेस संयोजक ओमप्रकाश गुप्ताको उपस्थिति रहेको थियो । सो संस्थाले यस अघि पहिलो चरणमा खाद्यन्न सहयोग गरेको थियो । राप्ती गाउँपालिका–५ सिसहनियाँ घर भई हाल डेनमार्कमा रहनु भएका प्रमोद अधिकारीले पठाएको ५ हजार रूपैयाँले चालम, दाल, नुन, तेल, जुस, साबुन, बिस्कुट र डाइभर लगायतका सामाग्री राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीको रोहबरमा संस्थाका अध्यक्ष दिवस आचार्य र संस्थापक अध्यक्ष सुर्यकिरण केसीले पिडितकी श्रीमती लैहा चौधरीलाई हस्तान्तरण गरेका थिए ।
रोगले थला परेका झागुलाई छोराबुहारीले उपचार गर्न छोडेपछि उनको अवस्था झनझन नाजुक बन्दै गएको छ । उनी बोल्न त सक्छन् तर शरिरको कुनै भाग चल्दैन । दिसापिसाव समेत विस्तारामै हुन्छ । मर्नु न बाँच्नुको अवस्थामा रहेका झागुलाई उपचार गर्ने पैसा समेत छैन् । छोरा बुहारीले पालन पोषण र उपचार गर्न छोडेपछि उनको अवस्था अहिले निकै जटिल बन्दै गएको छ । ३ भाइ छोरा मध्ये १ भाइ मानसिक रोगी छन् भने २ भाइ छोरा अलग भएपछि घरमा अहिले झागुका दम्पती मात्र छन् । झागुलाई अहिले ह्वीलचियरको आवश्यकता छ । सहयोग गर्न चाहानु हुनेले झागु प्रसाद चौधरीको नेपाल बैंकमा रहेको खाता नम्बर २९३१०२०७७१८२०९०००००१ मा सहयोग गर्न उनका श्रीमती लैहा चौधरीले सवैमा अपिल समेत गरेकी छिन् ।

