बिग्रिएका सिसि क्यामरा मर्मत गर्न राप्ती उद्योग वाणिज्य संघको माग
भालुवाङ १७ कार्तिक । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती उद्योग वाणिज्य संघले पालिकाको पुर्व पश्चिम राजमार्गमा जडान गरिएको सिसि क्यामरा बिग्रिएपछि मर्मत गर्न माग गरेको छ ।
सो सडक खण्डमा लुम्बिनी प्रदेश सरकारले शान्ति सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण तथा रोकथामका लागि उच्च प्राथमिकताका साथ सिसि क्यामरा जडान गरेको थियो । करिब ५० लाख रुपैयाँको लागतमा जडान गरिएका ती क्यामराहरूले सुरुवाती चरणमा प्रभावकारी रूपमा काम गर्दै सडक सुरक्षाको वातावरण बलियो बनाएका थिए । तर पछिल्ला महिनाहरूमा ती सिसि क्यामराहरू क्रमश बिग्रँदै गए र अहिले अधिकांश क्यामराहरू पूर्ण रूपमा निष्क्रिय बनेका छन् । सिसि क्यामराहरु बिग्रिएको लामो समय हुँदा समेत सम्बन्धी निकायबाट यसको मर्मत गर्ने तर्फ ध्यान गएको पाइदैन । जसले गर्दा एक तर्फ राज्यको लगानी खेर गइरहेको छ । भने अर्को तर्फ यसैको फाइदा लिदै अपराधिक घटनाहरु घट्ने गरेका कारण बिग्रिएका सम्पूर्ण सिसि क्यामराहरु यथाशीघ्र मर्मत गरी सुचारु गर्न उद्योग वाणिज्य संघले माग गरेको हो । संघले सोमबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई ज्ञापनपत्र बुझाई बिग्रिएका सिसि क्यामराहरूको तत्काल मर्मतसम्भार गरी पुन सञ्चालनमा ल्याउन ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तीमा भनिएको छ ‘सिसि क्यामराहरूले सडक दुर्घटना, चोरी, लुटपाट, ठगी जस्ता घटनामा संलग्न व्यक्तिहरूको पहिचान र कारबाहीमा ठुलो सहयोग पु¥याउने गरेको अनुभव हामी सँग छ । तर अहिले ती क्यामराहरू बिग्रिएपछि अपराधीहरू सहजै मौका छोपी भाग्ने गरेको, र घटनापछि प्रमाण अभावमा अनुसन्धानमा कठिनाइ भएको पाइएको छ । यसले गाउँपालिका भित्रको सुरक्षा व्यवस्थामा चुनौती सिर्जना गरेको छ ।’ विशेष गरी महेन्द्र राजमार्ग अन्तर्गत होटल पौवाबाट सांराग्री होटल सम्मका विभिन्न स्थानहरूमा रहेका क्यामराहरूले लामो समय देखि कुनै पनि दृश्य रेकर्ड गर्न छाडेका छन् । यस कारणले अपराध नियन्त्रणमा सहयोग पु¥याउने महत्वपूर्ण प्रविधि निष्क्रिय बनेको छ । ज्ञापन पत्र बुझ्दै पालिक अध्यक्ष विष्ट यथाशिर्घ सिसी क्यामरा मर्मत हुने बताए ।
‘सिसि क्यामरा मर्मत लागि पालिकाले प्रकृया पुर्याएर यथाशिर्घ मर्मत गर्ने छ’ अध्यक्ष विष्टले भने ‘ मर्मत पछि नियमित अनुगमन, मर्मत र प्रविधिको संरक्षणका लागि स्थायी सरकार लाग्ने छ ।’ ‘संघको कार्यक्षेत्र भित्र रहेका उद्योगी, व्यापारी तथा सर्वसाधारण नागरिक पनि यस अवस्थाबाट प्रत्यक्ष प्रभावित भएका छन् । व्यवसायिक गतिविधिमा असुरक्षाको भावना बढेको छ र जनसाधारणले पनि सडकमा हिंड्दा सुरक्षित महसुस गर्न छाडेका छन् ।’– विज्ञप्तीमा भनिएको छ । ज्ञापन पत्र बुझाउन अध्यक्ष सुरज खड्का सहित बरिष्ठ उपाध्यक्ष बसन्त गिरी, महासचिव बासुदेव न्यौपाने र सचिव मोहन आचार्यको उपस्थिती रहेको थियो ।


