दाङको राप्तीमा आशाका किरण संस्थाद्वारा माैलिक देउसीभैलो कार्यक्रम
भालुवाङ ५ कार्तिक । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले लक्ष्मीपुजाका दिन देखि मौलिक देउसीभैलो कार्यक्रम सुरू गरेको छ । पछिल्लो समय विभिन्न चाडपर्वमा नाचिने नाच र गीत लोप हुँदै गएपछि कला संस्कृति जोगाउन माैलिक देउसीभैलो कार्यक्रम सुरू गरेको हो ।
तिहारमा खेलिने देउसी भैलो समेत हिन्दी, अङ्ग्रेजी गीतलाई खेल्न थालेपछि मौलिकता हराउँदै गएको भन्दै मौलिकता संरक्षणका लागि संस्थाका युवाहरू जुटेका हुन् । दाङका विभिन्न बजारको चोकचोक र मुख्य सडकमा देउसीभैलो खेल्ने समूहले मौलिकतालाई खास्सै चासो दिएको छैन । हिन्दी, अङ्ग्रेजी र र्याप गीत समावेश गरेर नृत्य प्रस्तुत गर्ने गरेका छन् । आशाका किरणले हिन्दी, अङ्ग्रेजी गीतलाई स्थान दिएका छैनन् । उनीहरूले परापूर्वककालदेखि दाङमा प्रचलित बासुरीको लयमा नाचिने नाच, सोरठी, झाम्रे लगायतका गीत र नाचलाई प्राथमिकता दिएका छन् ।
नेपाली पोशाकमा सजिएका युवतीहरूले आफ्नो कला मार्फत सवैको ध्यान केन्द्रित गरेका छन् । बजारमा पश्चिमा संस्कृतिको हाबी हुँदै गएपछि त्यसलाई रोक्नका लागि आफूहरु मौलिक संस्कृतिलाई समेटेर देउसी खेल्ने थालेको संस्थाका कोषाध्यक्ष तथा साँस्कृतिक संयोजक ममता गिरीले जानकारी दिएकी छिन् । पुर्खाहरूरुले तिहारका बेला गाउने र नाच्ने नाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेपछि आफूहरू यसको संरक्षणमा जुटेको उनको भनाइ छ ।
खास गरी तिहारमा मारुनी, सोरठी नाच नाच्नुपर्ने भए पनि पछिल्लो समय हिन्दी र अङ्ग्रेजी गीतमा नाच्ने प्रचलन बढेको संयोजक गिरीले बताइन् । युवा पुस्तामा पुरानो संस्कृति हस्तान्तरणका लागि पनि आफूहरू लागि रहेको गिरीले बताइन् ।
कार्तिक ८ गते सम्म सञ्चालन हुने देउसीभैलोको उद्घाटन राप्ती गाउँपालिका-५ पहरूवा स्थित शिवसवरी धाम धार्मिक केन्द्रबाट गरिएको छ । भैलोबाट संकलित कुल रकमको ५० प्रतिशत सामाजिक क्षेत्र,२५ प्रतिशत कार्यालय व्यवस्थापन र २५ प्रतिशत मनोरञ्जनमा खर्च गर्ने उद्देश रहेको भैलोका आर्थिक संयोजक ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।
