बेसहाराको सहारा बन्दै लाइन्स क्लव : निलसागर सेवा आश्रममा आवश्यक सामाग्री सहयोग
भालुवाङ २९ असोज । दाङको देउखुरी स्थित लाइन्स क्लव अफ लमहीले बुधबार राप्ती गाउँपालिका-८ मिलनडाँडा कोहलुवामा रहेको निलसागर सेवा आश्रममा आवश्यक सामाग्री सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तरगत क्लवले आश्रममा आवश्यक पर्ने १५ हजार रूपैयाँ बराबरको आवश्यक सामाग्री सहयोग गरेको हो । जस अनुसार पि फर्म (म्याट) २ रोल, खाने तेल २० पोका, सरफ १ बोरा, हात धुने सावुन २५ पिस, लुगा धुने सावुन २५ पिस र फिनाइल २० बोतल सहयोग गरेको छ । क्लवका अध्यक्ष हल्लुप्रसाद चाैधरीको अध्यक्षता एवम् आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चाैधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लवका अध्यक्ष चाैधरीले आश्रमका कार्यवाहक अध्यक्ष चाैधरीलाई उक्त सामग्री हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका आश्रमका कार्यवाहक अध्यक्ष चाैधरीले ५ वर्षको दाैरानमा धेरै कुराहरू पार गर्दै आइपुग्दा थुप्रै सहयोगी तथा दयालु मनहरूलाई भेट्ने गरेको र उहाँहरूकै उत्साह तथा प्रेरणाले आश्रमलाई अगाडि बढ्ने हाैसला पाएको बताए । उहाँले लाइन्स क्लव जस्ता संघ संस्था तथा सहयोगी मन भएका व्यक्तिहरूनै साच्चिकै भगवान भएको बताउँदै अध्यक्ष चाैधरीले सहयोगी मन भएका व्यक्तिहरूबाटै आश्रम चलिरहेको बताए । आश्रम खोल्नु ठूलो कुरा होइन त्यसको सञ्चालन र व्यवस्थापन नै मुख्य समस्या रहेको बताउँदै सहयोगी मन भएका व्यक्तिहरूबाट सहयोग नभएमा आश्रम चल्न नसक्ने हुँदा अध्यक्ष चाैधरीले सवैलाई सहयोग गर्न आग्रह समेत गरेका छन्। अध्यक्ष चाैधरीले मान्छेलाई मान्छेकै रूपमा व्यवहार गर्न र आफ्ना परिवार भित्रका सदस्यहरूलाई परिवारले हेर्न सक्ने हो भने आश्रमको आवश्यकता नपर्ने बताए । शिक्षित परिवार र शिक्षित समाज भएको भए आज देशैभर यस्ता आश्रम खोल्न पर्ने स्थिति आउदैनथ्यो उनले भने ।
त्यस्तै सामाग्री हस्तान्तरण गर्दै क्लवका अध्यक्ष चाैधरीले क्लव र आश्रम बीचको सम्बन्ध बढाउन क्लवबाट आश्रममा थोरै भएपनि आवश्यक सामाग्री सहयोग गरेको बताउनु भयो । उहाँले एक पटक मात्र सहयोग गरेर नपुग्ने हुँदा तत्कालका लागि आश्रम सँगको समन्वयमा जाँडो माैसममा चिसोबाट बच्न म्याट सहितका आवश्यक सामाग्री सहयोग गरेको बताउनु भयो ।
कार्यक्रममा क्लवका एरिया जोन चिप सहाना श्रेष्ठ, प्रथम उपाध्यक्ष लोकमान रिजाल, सचिव उमाकान्त चाैधरी, जनसम्पर्क अधिकारी बालगोविन्द चाैधरी, क्लव मार्केटिङ कम्युनिकेशन चियर कृष्ण श्रेष्ठ, सचेतक हरिबहादुर कुवर र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य तथा देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताको विशेष उपस्थिति रहेको थियोे । कार्यक्रमको सञ्चालन क्लवका सचिव उमाकान्त चाैधरीले गर्नु भएको थियोे ।

