लालमटिया सुसमाचार मण्डलीको नवनिर्मित भवन उद्घाटन
भालुवाङ १० असोज । दाङको राप्ती गाउँपालिका–२ रामनगरस्थित लालमटिया सुसमाचार मण्डलीको नवनिर्मित भवन बिहीबार एक समारोहका बीच उद्घाटन गरिएको छ।
राप्ती गाउँपालिका, वडा कार्यालय तथा विभिन्न मण्डलीहरूको सहयोगमा कुल १९ लाख ८१ हजार २ सय ५५ रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवनको उद्घाटन गाउँपालिका अध्यक्ष प्रकाश विष्टले गरेका छन्। मण्डलीका पार्टर राजन रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष विष्टले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता बोकेको साझा मुलुक भएको उल्लेख गरे। उनले संविधानले धर्मनिरपेक्षताको व्यवस्था गरेर सबै धर्म तथा सम्प्रदायलाई समान अधिकार दिएको स्मरण गर्दै धार्मिक सहिष्णुता अझ सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए।
अध्यक्ष विष्टले राज्यले कसैलाई उपेक्षा नगरी सबैलाई समान दृष्टिले हेर्नुपर्नेमा जोड दिँदै, एक–अर्काको धार्मिक आस्था, परम्परा र अस्तित्वलाई स्वीकार नगरेसम्म सहअस्तित्व सम्भव नहुने धारणा व्यक्त गरे। साथै उनले राप्ती गाउँपालिकाले सबै जाति, धर्म, लिङ्ग, वर्ग, भाषा र संस्कृतिलाई समेट्दै समान अवसर र अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा वडा नं. २ का अध्यक्ष पहलवान चौधरी, पूर्व वडा अध्यक्ष जगत थापा, समाजसेवी रमेशमान गुरुङ, बिजुवार सुसमाचार प्रचार मण्डलीका मास्टर देबु गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए। मण्डलीका अगुवा पदम गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मञ्जु सुनारले गरेका थिए।
कार्यक्रममा विभिन्न क्षेत्रका अगुवा, स्थानीयवासी तथा मण्डलीका सदस्यहरूको उपस्थिति रहेको थियो।

