गोरखा मोेडेल स्कुलद्वारा तेस्रो दशैंमिलन भलिबल प्रतियोगिता सम्पन्न : गढवा प्रथम
लमही ७ असोज । दाङ देउखुरीको लमहीमा सञ्चालित तेस्रो दसैंमिलन भलिबल प्रतियोगितामा गढवा गाउँपालिका प्रथम भएको छ ।
गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीको आयोजनामा मंगलबार सम्पन्न फाइनल खेलमा गढवाले संयुक्त प्रहरीको टोलीलाई पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो । संयुक्त प्रहरीले उपविजेतामा चित्त बुझाएको छ । विद्यालयले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा गोरखा स्कुल, नेपाल शिक्षक महासंघ, लमही प्याबसन, देउखुरी युवा क्लव, संयुक्त प्रहरी, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र देउखुरी उद्योग वाणिज्य संघ लमही गरी ८ टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा विजेता गढवा गाउँपालिकाले एक वटा बोका, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । भने उपविजेता संयुक्त प्रहरी टोलीले पाँच वटा लोकल कुखुरा, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको गोरखा मोडेल सेकेण्डरी स्कुलका खेल शिक्षक झलक सिंह रसाइलीले जानकारी दिए । समापन समारोहलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे । उनले अध्ययनसँगै खेलकुदलाई जीवनको अभिन्न पाटोको रूपमा लिन विद्यार्थीलाई आग्रह पनि गरे ।
प्रतियोगिता गोरखा ग्रुपका अध्यक्ष विष्णु घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन प्लस टु संयोजक प्रकाश ओलीले गरेका थिए । रेफ्रीको भूमिका खेल प्रशिक्षक भरत कँवर र रवीन्द्र जिसीले निर्वाह गरेका थिए ।
