एनआइसी एसिया बैंक शाखा कार्यालय सिसहनियाँमा नक्कली नोट फेला
भालुवाङ ३१ भदौ । दाङको एनआइसी एसिया बैंक शाखा कार्यालय राप्ती गाउँपालिका-५ सिसहनियाँमा नक्कली नोट फेला परेको छ ।
सिसहनियाँ उद्योग वाणिज्य संघका महासचिव समेत रहेका बस्याल टेडर्सका सञ्चालक प्रशान्त बस्यालले सो नोट फेला पारेका हुन् । बस्याल पैसा झिक्न मंगलबार एनआइसी एसिया बैंक शाखा कार्यालय सिसहनियाँ गएका थिए । उनले झिकेको ५ सयको १०० वटा नोटमा १ वटा ५ सयको नोट नक्कली फेला परेको हो । बस्यालले सो बैंकबाट झिकेको पैसा नेपाल बैंकमा डिपोजिट गर्ने क्रममा नेपाल बैंकले मेसिनबाट चेक गर्दा १ वटा नोट नक्कली रहेको पुष्टि गरेको हो । नक्कली नोटलाई बस्यालले सोही बैंकमा गएर फिर्ता गरेका छन् ।
उता एनआइसी एसिया बैंक शाखा कार्यालय सिसहनियाँका शाखा प्रमुख चुर्णबहादुर चाैधरीले डिपोजिट गरिएको पैसामा मेसिनले नक्कली नोट नदेखाएकोले त्यस्तो समस्या आएको बताए । नक्कली नोटको हेरेर पहिचान गर्न समेत नसकिने र मेसिनबाट चेक गर्दा समेत मेसिनले नक्कली नोट नदेखाएको हुनसक्ने शाखा प्रमुख चाैधरीले बताए । बैंकले कुनै पनि ग्राहकलाई जानी जानी त्यस्तो काम गर्दैन, अहिले सम्म यस्तो समस्या भएको थिएन उनले भने, सो नक्कली नोटलाई केन्द्रीय कार्यालयमा पठाउने शाखा प्रमुख चाैधरीले बताए ।
यता आफू ठगिए पछि बस्यालले समाजिक सञ्जाल मार्फत ग्राहकवर्ग तथा नेपाली दाजुभाई, दिदीबहिनहरुलाई नक्कली नोटबाट सजग भई कारोबार अनुरोध समेत गरेका छन् ।

