दिवंगत प्रदेश सदस्य पुनकाे पार्थिव शरीरमा मुख्यमन्त्रीद्धारा राष्ट्रिय झण्डा ओढाएर सम्मान



दिवंगत प्रदेश सदस्य पुनकाे पार्थिव शरीरमा मुख्यमन्त्रीद्धारा राष्ट्रिय झण्डा ओढाएर सम्मान

दाङ १५ भदाै । दिवंगत लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको पार्थिव शरीरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् ।

आइतबार पशुपति स्थित आर्यघाटमा दाहसंस्कारका क्रममा मुख्यमन्त्री आचार्यले राष्ट्रिय झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् । त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे । पार्टीका अगुवा नेता-कार्यकर्ता, परिवारका सदस्य, आफन्त तथा स्षटमित्रहरुकाे उपस्थितिमा आर्यघाटमा शाेक सभा समेत गरिएको थियाे । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका-१० तकसेरा बाछी गाउँ निवासी पुनको भदौ १४ गते काठमाडौं स्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियाे । उनको निधनले प्रदेश मात्र होइन, समग्र नेपाली समाजलाई नै स्तब्ध तुल्याएकाे भन्दै मुख्यमन्त्री आचार्यले दुःख व्यक्त गरे ।

मुख्यमन्त्री आचार्यका अनुसार पुनले प्रदेश सभा सदस्यको हैसियतमा समाज परिवर्तन, सुशासन र जनताका आकांक्षालाई सम्बोधन गर्ने कार्यमा महत्वपूर्ण योगदान गरेकी थिइन् । उनलाई एक दूरदर्शी, इमानदार, अनुशासित, विकासप्रेमी र निष्ठावान जनप्रतिनिधिका रूपमा स्मरण गर्दै उनको निधन प्रदेशका लागि अपूरणीय क्षति भएको श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गरेका छन् । पुनकाे केही दिनअघि एकैपटक दुईवटा ठूलो शल्यक्रिया गरिएको थियाे । पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिइएकी थिइन् भने दोस्रो अपरेशन मार्फत मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । उपचार सफल हुन नसकेपछि पुनकाे निधन भएको हाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे