गोरखा आइडियल स्कुलका बालबालिकाहरू कथा लेख्न सिक्दै
भालुवाङ १५ भदौ । दाङको राप्ती गाउँपालिका-२ लालमटियामा रहेको गोरखा आइडियल स्कुलका बालबालिकाहरू कथा लेख्न सिक्न थालेका छन् । विद्यार्थीको सिकाइका लागि स्कुलले तीन दिने कथा लेखन कार्यक्रमको आयोजना गरि कथा लेख्न सिकाएको छ ।
कक्षा ६ देखि १० सम्मका कुल ५३ जना बालबालिकाले कथा लेख्न सिकेका हुन् । जसमा ७ जनाले कथा बाचन गरेका थिए भने ५ जनाले कथा लेखनको अनुभव सुनाएका थिए । जस अनुसार कक्षा ६ कि छात्रा जिसुना पोख्रेल, कक्षा १० कि छात्रा इच्छा केसी, कक्षा ९ कि छात्रा गंगा कवर, कक्षा ७ कि अराध्या सुनार, कक्षा ८ कि छात्रा सदिक्षा गैरे, कक्षा ९ कि आषिका रोका, कक्षा ६ कि छात्रा सदिक्षा पाैडेलले कथा बाचन गरेका थिए । भने कक्षा १० का छात्र कृष भट्टराई, कक्षा ९ कि छात्रा विज्ञमाया विक, कक्षा ७ कि छात्रा सदिक्षा थापा, कक्षा ६ का छात्र सुवास भुसाल र कक्षा ८ कि गृष्मा आचार्यले कथा लेखनको अनुभव सुनाएका थिए । विद्यार्थीसँगको तीन दिने बसाइँमा बाल साहित्यकार एवं नेपाल बाल साहित्य समाजका राष्ट्रिय अध्यक्ष विजयराज आचार्यले कथा लेखनका आधारभूत तत्वहरू पात्र, परिवेश, संवाद, दृष्टिकोण र संरचनाबारे प्रशिक्षण दिनुका साथै विद्यार्थीलाई अभ्यासका अवसर समेत दिएका थिए । यसै बीच कथा लेखन कार्यशालाको आइतवार समापन गरिएको छ ।
गोरखा ग्रुपका संस्थापक अध्यक्ष मानबहादुर बुढा मगरको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चाैधरीको प्रमुख आतिथ्यतामा भएको कथा लेखन समापन कार्यक्रममा प्रमुख अतिथि चाैधरीले कथा लेखनले बालबालिकाहरूको लेखन कला तथा सिर्जनात्मक सिपको विकास भई नयाँ पुस्तामा साहित्यिक चेतना र अभिरुचि जागृत गर्ने विश्वास व्यक्त गरे । कार्यशालाको समापन समारोहमा विद्यार्थीले आफैँले तयार पारि बाचन गरेका कथाले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो भने केही कथाले भावुक समेत बनायो । केही कथाहरू काल्पनिक, केही समाजमा घटेका घटनाहरूलाई समेटेर तयार पारेको सत्य घटनामा आधारित कथा थिए भने केही कथा समसामयिक प्रविधि र भविष्यवादी कल्पनामा केन्द्रित थिए ।
कार्यक्रममा बाल साहित्यकार एवं नेपाल बाल साहित्य समाजका राष्ट्रिय अध्यक्ष विजयराज आचार्य, अभिभावक जयमान विक लगायतका वक्ताहरूले सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा साहित्यकार, विद्यार्थी, अभिभावक, शिक्षक, पत्रकार लगायतको उपस्थिति रहेको थियो । गोरखा मोडल सेकेण्डरी स्कुल लमहीका प्रिन्सिपल लोकमान रिजालले धन्यवाद र कक्षा ६ की छात्रा अनुष्का भट्टराईको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन विद्यालय संयोजक देवबहादुर बुढामगरले गरेका थिए ।
