दाङमा २ वटा अट्वारी पर्व : देउखुरीका थारु समुदायले आज अट्वारी मनाउँदै



दाङमा २ वटा अट्वारी पर्व : देउखुरीका थारु समुदायले आज अट्वारी मनाउँदै

देउखुरी १५ भदौ । दाङ देउखुरीका थारू समुदायले आज धुमधामका साथ अट्वारी पर्व मनाउँदै छन् ।

यस अघि भदौ ८ गते अट्वारी नमनाएका देउखुरीका थारु समुदायले भने आज धुमधामका साथ अट्वारी पर्व मनाउन लागेका हुन् । दाङ उपत्यकामा भदौ ८ गते अर्थात कुशे औशी पछि आउने पहिलो आइतवारलाई अट्वारी पर्वको रुपमा मनाएका थिए । तर देउखुरीका थारू समुदायले भने हरितालिका तीज पछि आउने पहिलो आइतबारलाई मात्र अट्वारी मान्न सकिने भन्दै उनीहरुले आज अट्वारी पर्व मान्न लागेको राप्ती गाउँपालिका–५ पहरूवाका थारू अगुवा ठाकुरराम चौधरी र गुरूप्रसाद चौधरीको भनाई छ । आइतबारका दिन थारू समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व मनाउँदै छन् ।

यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानी समेत नपिई दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्ने चलन छ । थारू अगुवा शनिराम चौधरीका अनुसार व्रतपछि गहुँको पीठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटी लगायत पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई एक भाग छुट्याई बाँकी भाग व्रतालुले खाने चलन रहेको छ । अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीले दाजुभाइलाई उपहार दिने गर्छन् । अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चालगायत पकवान र माछाको सिद्रा बर्तालुले ग्रहण गर्छन् ।

यो पर्व थारू समुदायको दशैँपछिको ठूलो पर्वका रूपमा लिइन्छ । प्रदेश सरकारले थारू कल्याणकारीको सुझावमा भदौ ८ गते सार्वजनिक बिदा दिएको थियो तर स्थानीय सरकारले भने भदौ १५ गतेका लागि बिदा दिएका छन् । जसमा लमही नगरपालिका र राजपुर गाउँपालिकाले भदौ १५ र १६ गते गरि २ दिन सार्वजनिक बिदा दिएका छन् भने राप्ती र गढवा गाउँपालिकाले भदौ १५ गते १ दिनका लागि सार्वजनिक बिदा दिएका छन् । प्रदेश सरकारले भने यस अघि भदौ ८ गते दाङ सहित पश्चिमका ५ जिल्लामा सार्वजनिक बिदा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे