दाङको राप्ती गाउँपालिकाद्वारा मोबाइल कलमार्फत सूचना प्रवाह सुरु
भालुवाङ १५ भदौ । दाङको राप्ती गाउँपालिकाले अब पालिकाका सबै सूचना तथा जानकारी मोबाइल फोनमार्फत नागरिकसम्म पुर्याउने व्यवस्था सुरु गरेको छ। पालिकाले सूचना तथा जानकारीलाई छिटो र प्रभावकारी ढंगले सम्प्रेषण गर्नका लागि ‘नागरिक सूचना प्रणाली’ कार्यान्वयनमा ल्याएको हो।
यस अन्तर्गत पहिलो चरणमा करिब १० हजार नागरिकका मोबाइल नम्बर संकलन गरी फोनमार्फत सूचना प्रवाह थालिएको छ भने बाँकी नागरिकको सम्पर्क नम्बर पनि क्रमशः संकलन भइरहेको पालिकाले जनाएको छ।
सूचना प्रविधि शाखा प्रमुख बालचन्द्र गुरुङका अनुसार यसका लागि नेपाल टेलिकमकाे १० र एनसीएलका १० गरि २० वटा नम्बर प्रयोग गरी एउटै समयमा धेरै जनाको मोबाइलमा फोन पुग्ने व्यवस्था गरिएको छ। फोन गएको बेलामा नागरिकले उठाउनासाथ पालिकाको सूचना सुन्न सक्नेछन्।
यदि फोन नउठाएमा केही समयपछि स्वचालित रूपमा सोही नम्बरमा पुनः कल जाने र एउटै व्यक्तिको नम्बरमा अधिकतम दुई पटकसम्म फोन आउने व्यवस्था गरिएको पनि उनले बताए।
गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले यस प्रणालीले पालिकाका सूचना र निर्णयहरू सबै नागरिकसम्म समयमा पुर्याउन सहयोग गर्ने बताए। प्रविधिको सदुपयोगमार्फत पारदर्शिता, उत्तरदायित्व र सेवामा सहजता ल्याउने लक्ष्यका साथ अघि बढिएको उनको भनाइ छ।
पालिकाले यस प्रणालीबाट पालिकाका निर्णय, सेवा, कार्यक्रम र विभिन्न आवश्यक जानकारी नागरिकलाई सहज र समयमै उपलब्ध हुने विश्वास लिएको छ।
